२०८२ भदौ २७ शुक्रबार
Jhapa Today
Adv top

दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ


बिर्तामोड, भदौ २७ । जेलबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् ।

लागूऔषध ओसारपसारमा कसुर ठहरी काठमाण्डौस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन पक्राउ परेकी हुन् ।

हिजो राति ११ः१५ बजे सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा १३ जना र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा १० जनाको संयुक्त गस्ती टोलीले गौरीगञ्ज –५ मलाहा टोल सीमा इलाकामा गस्ती गर्ने क्रममा मलाहाटोल सीमा इलाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ । जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार भएकी थिइन् ।

त्यस्तै, नेपालको कारागारबाट फरार भएका एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधवार राति करिव १०ः१५ बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त कार्वाहीमा काठमाण्डौको कारागारबाट फरार भएका एक नेपाली युवकलाई भारतीय क्षेत्रमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोरङ विराटनगर ३ का सुरज कामत रहेका छन् । उनी पिलर संख्या १५४ देखि करिव २०० मिटरभित्र भारतीय सीमा क्षेत्रमा पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।

नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । हिजो ती कैदीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको छ ।

Adv footer