
बिर्तामोड, असोज ४ । झापाको चारपाने र चारआली क्षेत्रमा बन्ने ओभरपासको काम सुरु भएको छ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत ओभरपास निर्माणका लागि चारपाने र चारआली चोकमा डाइभर्सन बनाएर काम थालिएको हो ।

एसियन हाइवेको काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) मा तीनवटा ओभरपास बन्ने छन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा ओभरपास बनाइनेछ ।

आयोजनाका परामर्शदाता इन्जिनियर मानबहादुर मगरका अनुसार बिर्तामोडको मुक्तिचोक पूर्व २०० मिटर र पश्चिमतर्फ ३९० मिटर ओभरपास हुनेछ ।

त्यस्तै, चारपानेमा पूर्व २०७ मिटर र पश्चिममा ३०८ मिटरको ओभरपास बन्ने जनाइएको छ । चारआलीमा पूर्व २५१ र पश्चिमतर्फ २२६ मिटर लम्बाईको ओभरपास बन्नेछ ।

सडक निर्माणका लागि सम्झौता बमोजिम नै काम अघि बढाइएको आयोजना प्रमुख सुनिलबाबु पन्तको भनाइ छ । उनका अनुसार सम्झौता बमोजिम नै काम अघि बढाइनेछ ।

बिर्तामोडको ओभरपासमा ओहोरदोहोर गर्न अन्डरपासको समेत व्यवस्था गरिएको पन्तले जानकारी दिए । पूर्वतर्फ बुट्टाबारीदेखि घाग्रा खोलासम्म केही ठाउँमा बाहेक ६ लेनको सडक निर्माण गरिनेछ ।

बिर्तामोडको मुक्तिचोक क्षेत्र व्यवस्थित र सुन्दर हुने भन्दै व्यवसायीहरुलाई पर्खालका कारण व्यापारमा समस्या नहुनेमा विश्वस्त रहन आग्रह गरिएको छ ।
आउने असार महिनासम्म आधार क्षेत्रमा कालोपत्रे सक्ने योजना रहेको बताइएको छ । पाँच किलोमिटरको एक भाग सक्दै अर्को भागमा कालोपत्रे गरिनेछ । आवतजावतमा सजिलो बनाउन पाँच–पाँच किमिमा कालोपत्रे गरिनेछ ।