२०८२ कात्तिक २८ शुक्रबार
Jhapa Today
Adv top

युएईले दिन थाल्यो नेपालीलाई भिसा


बिर्तामोड, कात्तिक २८ । करिब दुई महिनापछि युएईले नेपाली कामदारको भिसा जारी गर्न सुरुवात गरेको छ । भदौ अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले अघोषित रूपमा नेपाली कामदारका लागि भिसा बन्द गरेको थियो ।

बिहीबारदेखि कामदारको भिसा जारी भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । संस्थागत अर्थात म्यानपावर कम्पनीबाट पेस भएका फाइलमा भिसा जारी भएको भए पनि भिजिट भिसामा युएई गएकाहरूको भने भिसा स्टाटस परिवर्तन नभएको बताइएको छ ।

जेनजी आन्दोलनपछि युएईमा हाल फ्रि जोन र अर्ध सरकारी गरी दुई क्षेत्रमा मात्रै नेपाली कामदारका लागि भिसा जारी गरिएको थियो । युएईले नेपाली कामदारको भिसा रोकेको औपचारिक रूपमा नेपाललाई जानकारी दिएको थिएन ।

नेपाली कामदारका लागि भिसा रोकेको जानकारी कूटनीतिक माध्यमबाट जानकारी नपाएको भन्दै नेपाली पक्ष पर्खेर बसेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक पहल गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएकी थिइन् ।

भिसा जारी नभएको अवस्थाले नेपालले लामो समयका लागि प्रमुख रोजगार गन्तव्य गुमाउन सक्ने खतरा बढेकोमा वैदेशिक रोजगार व्यवसायी चिन्तित थिए ।

युएई नेपाली कामदारको प्रमुख गन्तव्य हो । अघिल्लो महिना भदौमा नयाँ २० हजार र रिइन्ट्री समेत गरी २५ हजारभन्दा बढी नेपाली कामदार गएका थिए । असोज र कात्तिक दुई महिना भने युएई जाने क्रम लगभग ठप्पको अवस्था छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भिसा सम्बन्धी व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन नेपालस्थित सम्बन्धित देशका राजदूतहरूसँग छलफल सुरु गरिएको र परिस्थिति सकारात्मक हुने बताएका छन् ।

Adv footer