
बिर्तामोड, मंसिर ४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा सञ्चालन हुने प्रथम संस्करणको त्रिवेणी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई स्थानीय एकजना युवाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
मेचीनगर १५ ज्यामिरगढीमा आयोजना हुने फुटबल प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय झापाली समाजका सदस्य, झापाली समाज इजरायलका युवा संयोजक तथा झापा एफसी इजरायलका उपाध्यक्ष विज्ञान नेपालले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
नेपालले बुवा डिल्लीराम, मावली हजुरबुवा रामप्रसाद पराजुली तथा हजुरआमा चन्द्रकलाको स्मृतिमा सो रकम सहयोग गरेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विदुरसिंह खवास (अजित) ले बताए ।

यही मंसिर १० गतेदेखि १७ गतेसम्म ज्यामिरगढी माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक त्रिवेणी युव क्लबसहित भारतका दुई र कोशी प्रदेशका पाँच टिमको सहभागिता रहनेछ ।
बेलबारी फुटबल क्लब, सैनिक फुटबल क्लब, रेडहर्स फुटबल क्लब इलाम, ब्रदर्स फुटबल क्लब दमक, नेपाल प्रहरी रानी विराटनगर, सीमावर्ती भारतका दुई क्बलले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाख एक हजार, ट्रफी र मेडल पाउनेछ चने उपविजेताले नगद एक लाख एक हजार, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष खवासले जानकारी दिए ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उच्च गोलकर्ता, सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रत्यके खेलको प्लेयर अफ द म्याचले नगद पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।







