
बिर्तामोड, मंसिर ८ । सर्वोच्च अदालतको आदेशसँगै अभियान्ता दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्चको आदेशसँगै उनी आइतबार साँझ थुनामुक्त भएका हुन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्च अदालतका रजिस्ट्रारको रोहबरमा कागज गराएर प्रसाईंलाई रिट निवेदक उनका छोरा निराजन वा उनका कानुन व्यवसायीको जिम्मा लगाउन आदेशमा भनिएको छ ।

प्रसाईं यही मंसिर २ गते राति पक्राउ परेका थिए । उनले मंसिर ७ गते नेपाल बन्द र आमहड्तालको आह्वान गरेका थिए । उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए ।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए ।
उनका अनुसार सरकार उनका २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली बनाउन तयार भएको छ । उनले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहेको समेत बताए ।






