
बिर्तामोड, मंसिर १५ । औषधि व्यवसायीहरुका लागि सरकारले ल्याएको संशोधित ऐनविरुद्धमा आज दुई घण्टा पसल बन्द गरेर विरोध जनाएका छन् । देशभरका औषधि व्यवसायीहरु मंसिर ११ गतेदेखि आन्दोलनमा छन् ।
संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलित बनेका हुन् । देशभरका ५६ जिल्लाका औषधि व्यवसायीहरुले आआफ्नो औषधि पसल बन्दसहित कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
आज ११ बजेदेखि १ बजेसम्म औषधि पसल बन्द गर्दै औषधि व्यवसायीले कालोपट्टी बाधेर आन्दोलित बनेका हुन् । देशभरका नेपाल औषधि व्यवयासी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ विरोधमा उत्रेका हुन् ।
झापामा चार सयको संख्यामा औषधि व्यवयासी रहेको संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । उनका अनुसार सरकारले गत साउन १४ गते संशोधित ऐन ल्याएको थियो ।
साउन २१ गते सरकारलाई संघले संशोधनपछि व्यवसायीहरुमा परेको समस्याको विषयको मागसहित ध्यानाकर्षण गराएको थियो । तर, सरकारले उक्त मागको बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ छ ।
पुरानो औषधि ऐनमा औषधि पसलको नवीकरणको म्याद सकिएको ३५ दिनभित्र नवीकरण गर्न पाउने व्यवस्था थियो । संशोधित ऐनमा नवीकरणको म्याद सकिएको भोलिपल्ट सतप्रतिशत जरिवाना र संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने उल्लेख छ ।




