
भद्रपुर, पुस ५ । झापा भद्रपुरको ग्यालेक्सी इङलिस स्कुलले कक्षा ११ मा शैक्षिकसत्र २०८२ लागि भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको छ ।
कक्षा ११ लाई कक्षा १० सम्मका विद्यार्थीहरुले गायन र सांस्कृतिक नृत्यले स्वागत गरेका थिए । कक्षा ११ का तर्फबाट प्रभा राई, सनम राजवंशी र गगन चौँलागाईंले मन्तव्य, वाद्यवादन र गायनमार्फत धन्यवाद प्रस्तुत गरेका थिए ।
शिक्षकद्वय, रविन्द्रकुमार घोष र खेमराज लेप्चाको समेत गायन रहेको कार्यक्रममा सञ्चालक समितिबाट सुनिल घिमिरेको उपस्थिति रहेको थियो ।
कक्षा ११ र १२ उच्च शिक्षा तथा भविष्य तयारीको महत्वपूर्ण आधार भएकाले विद्यालयको उद्देश्य पाठ्यक्रमकेन्द्रित किताबी तथा व्यावसायिक ज्ञान मात्र नभई व्यावहारिक मानवीय मूल्य र सीपसहितको व्यवहार र आचरण विकास रहेको प्रस्ट पार्दै शिक्षक वेदप्रसाद घिमिरेले सोहीअनुरुप शिक्षक—विद्यार्थीबीच सहकार्य र सहजीकरण हुनुपर्ने बताए ।
यसै शैक्षिकसत्रबाट कक्षा ११ सुरु गरेको विद्यालयमा ३० जना विद्यार्थीहरु लेखाशास्त्र, अर्थशास्त्र, गणित, कम्प्युटर विज्ञान तथा वाणिज्यशास्त्र विषयमा स्मार्ट ल्याब र बोर्डसहितका कक्षामा अध्ययनरत छन् ।
प्लस २ प्रशासन प्रमुख देवीप्रसाद सुवेदीको अध्यक्षता र सामाजिक व्यक्तित्व शमशेर मोक्तानको आतिथ्यतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल विवेक चौँलागाईंले गरेका थिए भने बाल क्लब अध्यक्ष सिर्जन तामाङले स्वागत गरेका थिए ।
विद्यालयले आगामी शैक्षिक सत्रदेखि आधुनिक प्रविधियुक्त ल्याबसहितका प्राविधिक विषय अध्यापन गराउन भौतिक पूर्वाधार निर्माण गरिरहेको सहायक प्रिन्सिपल चौँलागाईंले जानकारी दिए ।




