२०८२ पुष २८ सोमबार
Jhapa Today
Adv top

मेचीनगरबाट नौजना लागुऔषध प्रयोगकर्ता पक्राउ


बिर्तामोड, पुस २८ । झापाको मेचीनगरस्थित कालिका सिमसारबाट प्रहरीले नौजना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । करिब सात महिनाअघि सोही स्थानबाट ४३ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका थिए ।

हिजो साँझ ७ बजेतिर मेचीनगर–११ स्थित कालिका सिमसारमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमार राउत र सशस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठको कमान्डको संयुक्त टोली खटिएको थियो ।

सो टोलीले मेचीनगर–७ बस्ने वर्ष २६ का विमल मेचे र मेचीनगर ११ बस्ने वर्ष २३ का प्रवीण राईलाई शङ्का लागेर जाँच गर्दा मेचेको साथबाट ४ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर, ३० हजार नगद र राईको साथबाट ७ हजार ५०० रुपैयाँ फेला परेको थियो ।

उनीहरूसँगै रहेका अन्य सातजनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर ८ बस्ने वर्ष २० का कविस मेचे, वडा नम्बर ११ बस्ने वर्ष २८ का बासु राजवंशी, वडा नम्बर ११ बस्ने वर्ष ३४ का सुरेश खड्का छन् ।

त्यस्तै, बुद्धशान्ति ४ बर्ने बस्ने वर्ष ३५ का कुमार गुरुङ, बुद्धशान्ति ३ बस्ने वर्ष २५ का सन्दीप रसाइली, मेचीनगर १० टिकापुर बस्ने वर्ष ३० का घनश्याम माझी र बुद्धशान्ति ४ बस्ने वर्ष ३८ का राजेन्द्रकुमार थापा पक्राउ परेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । यसअघि गत जेठ १३ गते कालिका सिमसारमा लागुऔषध खरिद बिक्री गर्दैगर्दा ४३ जना पक्राउ परेका थिए ।

Adv footer