२०८२ माघ १ बिहीबार
Jhapa Today
Adv top

कनकाईमा पिकअप र बस जुध्दा एक बालकको मृत्यु, १२ जना घाइते


बिर्तामोड, माघ १ । झापाको कनकाईस्थित माईमेलामा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजना बालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका बस्ने आफुद राजवंशीका छोरा डेढ वर्षीय आरुती राजवंशी रहेका छन् । दुर्घटनामा घाइते बालकलाई उपचारका लागि बिएन्डसी अस्पतालमा डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको थियो ।

आज बिहान ९ः३० बजे कनकाई ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे. १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना. ५ ख २१४९ नम्बरको बस एकआपसमा जुधेर दुर्घटना भएको हो ।

मृत्यु भएका बालक पिकअपमा रहेका थिए । पिकअप चालक बिर्तामोड-६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ ।

बस इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको र बस चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिएन्डसी अस्पतालमा उपचाररत घाइतेहरु झापा मेचीनगर-१५ बस्ने ६५ वर्षीया फूलमुनि मुर्मू, ४२ वर्षीया जमुना राजवंशी, टिकेन्द्र राजवंशीका छोरा ११ वर्षीय अनिष राजवंशी रहेका छन् ।

त्यस्तै, बिर्तासिटी अस्पताल उपचाररत घाइतेहरु भद्रपुर-४ बस्ने ४० वर्षीय पुष्पलाल राजवंशी, भद्रपुर-८ बस्ने ४० वर्षीय आफुद राजवंशी, उनकी श्रीमती ४० वर्षीय सुष्मा राजवंशी, उनका छोरा १५ वर्षीय आशिष राजवंशी छन् ।

त्यस्तै, भद्रपुर-९ बस्ने ४० वर्षीय टेमुना राजवंशी, शिवसताक्षी-१० बस्ने २९ वर्षीया अञ्जली राई, बिर्तामोड-३ बस्ने २४ वर्षीय अभिषेक राजवंशी, मेचीनगर-१५ बस्ने १५ वर्षीया कृतिका राजवंशी, भद्रपुर-४ बस्ने ४५ वर्षीय पाथल राजवंशी घाइते भएका छन् ।

Adv footer