
बिर्तामोड, माघ ९ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुरानै निर्वाचन क्षेत्र (झापा–५) बाट उम्मेदवारी दिएका छन् ।
उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाह प्रतिस्पर्धामा उत्रिएका छन् । ओली र शाहसँगै कांग्रेसबाट मन्दरा चिमरिया र नेकपाबाट रञ्जीत तामाङ प्रतिस्पर्धामा छन् ।
बालेन एमाले अध्यक्ष ओलीसँगै प्रतिस्पर्धा गर्ने भनेर झापा गएका हुन् । काठमाडौँ–२ का स्थायी बासिन्दा बालेनको पुख्र्यौली घर भने महोत्तरी हो । उम्मेदवारी दर्ताकै दिन दमकमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको थियो ।
निर्वाचनमा प्रतिस्पर्धी दलका नेता तथा कार्यकर्ताले एकले अर्कालाई देखिनसहने प्रवृत्ति झापा– ५ पनि दोहोरिने प्रस्ट छ । बालेनसँग कार्यकर्ताभन्दा पनि शुभेच्छुकको भीड बलियो छ । रैथाने ओलीसँग वडा तहदेखि नै कार्यकर्ताको साथ छ ।
यस्तोमा चुनावी घरदैलो र नारा÷जुलुसमा दुईतर्फी मुठभेड हुन सक्ने जोखिम छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा ओलीले पाउने सुरक्षाकर्मी मात्रै उनको सुरक्षाका लागि पर्याप्त देखिँदैन ।
स्रोतका अनुसार ओलीलाई सुरक्षा दिन सादा पोशाकमा सुरक्षाकर्मी खटाइएको छ । यद्यपि, युवा संघले पनि ओलीको सुरक्षा गर्दै आएको छ ।
स्रोतले भन्यो, ‘दुवैका कार्यकर्ता/समर्थकले संयम गुमाए भने घटनाले अर्कै रूप लिने देखिन्छ । ओली/बालेनले संयम भएर प्रतिस्पर्धा गर्न जरुरी छ ।’


