बिर्तामोड, फागुन ७ । जब कलेजोको कोषिकामा अत्यधिक बोसो (फ्याट) जम्मा हुन्छ, त्यस अवस्थालाई फ्याटी लिभर भनिन्छ । कलेजोमा सामान्य रूपमा केही मात्रामा बोसो हुन्छ, तर यदि कलेजोको कुल तौलको १० प्रतिशतभन्दा बढी बोसो जम्मा भएमा त्यसलाई फ्याटी लिभर मानिन्छ र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

फ्याटी लिभर हरेक अवस्थामा घातक हुँदैन, तर कहिलेकाहीँ कलेजो सुन्निने समस्या उत्पन्न गर्न सक्छ । यस्तो अवस्थालाई स्टिएटोहेपेटाइटिस भनिन्छ, जसले कलेजोमा क्षति पुर्याउन सक्छ ।
यो अवस्था कहिलेकाहीँ अत्यधिक रक्सी सेवनका कारण हुन्छ, जसलाई अल्कोहोलिक स्टिएटोहेपेटाइटिस भनिन्छ । तर यदि रक्सी सेवन नगरेको अवस्थामा यस्तो हुन्छ भने त्यसलाई नन-अल्कोहोलिक स्टिएटोहेपेटाइटिस भनिन्छ ।
कलेजोमा यो अवस्था लामो समयसम्म रहँदा कलेजो कडा हुँदै जान्छ र घाउ देखिन थाल्छन् । यस गम्भीर अवस्थालाई सिरोसिस भनिन्छ । यो अवस्था सुरु भए कलेजोले काम गर्न छोड्ने चिकित्सक बताउँछन् ।
फ्याटी लिभरका स्तरहरू
ग्रेड १ : हल्का फ्याटी लिभर
यो अवस्थामा कलेजोका लगभग ३३ प्रतिशत कोषिकामा बोसो जम्मा हुन्छ ।
सामान्यतः कुनै लक्षण देखिँदैन ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम र सन्तुलित आहारबाट सुधार्न सकिन्छ ।
ग्रेड २: मध्यम स्तरको फ्याटी लिभर
कलेजोका ३४ देखि ६६ प्रतिशत कोषिकामा बोसो जम्मा हुन्छ ।
थकान, पेटमा भारीपन वा हल्का दुखाई महसुस हुन सक्छ ।
समयमै सुधार नगरे गम्भीर लिभर रोगमा परिणत हुन सक्छ ।
ग्रेड ३: गम्भीर फ्याटी लिभर
६६ प्रतिशतभन्दा बढी कोषिकामा बोसो जमेको हुन्छ ।
कलेजो सुन्निने, घाउ (फाइब्रोसिस) वा सिरोसिस हुन सक्छ ।

विशेषज्ञको भनाइ
भारतको दिल्ली स्थित सरगंगाराम अस्पतालका लिभर तथा पेटसम्बन्धी रोग विशेषज्ञ डा. पियुष रञ्जनका अनुसार फ्याटी लिभर दुई प्रकारका हुन्छन् – एउटा रक्सीका कारण हुने र अर्को अर्को बिना रक्सी हुने (नन-अल्कोहोलिक फ्याटी लिभर डिजिज) । उनका अनुसार मोटोपन, डायबेटिज, थाइराइड र कोलेस्ट्रोलको स्तर बढ्नुले पनि फ्याटी लिभर निम्त्याउँछ ।
कलेजोमा बढी बोसो जमेपछि इन्सुलिनप्रतिको संवेदनशीलता घट्छ, जसले टाइप-२ डायबेटीज को जोखिम बढाउँछ ।फ्याटी लिभर रोग आज सिरोसिसको सबैभन्दा ठूलो कारण बनेको छ । झण्डै ३५ प्रतिशत मानिसहरूलाई फ्याटी लिभर हुन्छ, जसमध्ये २५ प्रतिशतलाई सिरोसिसको जोखिम हुन्छ ।
सिरोसिसको जोखिम कसरी थाहा पाउने ?
चिकित्सकका अनुसार फ्याटी लिभरबाट सिरोसिसको अवस्थामा पुग्न ५ देखि १० वर्ष लाग्न सक्छ । फाइब्रोस्क्यान र इलेस्टोग्राफीबाट कलेजोको कडापन थाहा पाउन सकिन्छ । औषधि, जीवनशैलीको परिवर्तन र व्यायाममार्फत सुधार गर्न सकिन्छ । मोटोपन, डायबेटिज र कोलेस्ट्रोलको नियन्त्रण आवश्यक हुन्छ ।
के नखाने ?
अत्यधिक चिनी : बिस्कुट, कुकीज, चकलेट, जुस, मिठाई, सोडा, स्पोर्ट्स ड्रिंक आदि ।
तारेका र प्रोसेस्ड खाना : फ्राइड चिकन, डोनट, बर्गर, चिप्स, प्रोसेस्ड मासु ।
अत्यधिक नुन : नुन देखि खानु हुँदैन । प्याकेटको खाना र स्न्याक्स पनि खानु हुँदैन ।
सेतो पिठोबाट बनेका खाद्यपदार्थ : सेतो रोटी, पिसेको चामल, पास्ता आदि ।
अत्यधिक क्यालोरी बोसोका रूपमा जम्मा हुन सक्ने भएकोले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

के खानु उपयुक्त ?
बिहान राम्रो खाजा, दिउँसो मध्यम खाना, बेलुकाको खाना हल्का र साँझ ७ बजेसम्ममा खाइसक्नु पर्छ ।
ब्ल्याक कफी : केही अध्ययनअनुसार यसले फ्याटी लिभरमा सहयोग पुर्याउँछ ।
पातलो हरियो सागसब्जी : जसमा नाइट्रेट र पालिफेनल्स पाइन्छ ।
फलफूल र सागसब्जीमा बढी जोड दिनुपर्छ ।
दाल, चना, सोयाबिन, मटर आदि फलफूल खानामा समावेश गर्नुपर्छ ।

व्यायाम अनिवार्य
हप्तामा कम्तीमा १ सय ५० मिनेट मध्यम तीव्रताको एरोबिक व्यायाम :
तीव्र गतिको हिँडाइ
साइकल चलाउने
पौडी खेल्ने
(यो सामग्री बीबीसी हिन्दीको सहयोगमा तयार पारिएको हो ।)




