
बिर्तामोड, फागुन १० । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वर्ल्ड स्कुलले आफ्नो वार्षिकोत्सव सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ ।
बिर्तामोड–१ स्थित विद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कविता, नाटक, वक्तृत्व र संगीतसहित नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावक तथा अतिथिहरूलाई दंग पारेका थिए ।
उत्सवको उद्घाटन मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कक्षा ३–५ का छात्राहरूले सरस्वती वन्दना प्रस्तुत गर्दै सांगीतिक सुरुवात गरे भने अस्लेषा समूहबाट सेफायर नृत्य प्रदर्शन गरिएको थियो । विद्यालयका निर्देशक आनन्दकुमार बस्नेत, वाल्मीकि एजुकेसन फाउण्डेशनका प्रिन्सिपल पवन गिरी, सञ्चालक मनिषा बस्नेत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठलगायत अतिथि रहेका थिए ।
कार्यक्रममा शिक्षक सुशीला घिमिरे र विद्यार्थी सागर ढकाल तथा एञ्जीला बिमलीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, सहकार्य भावना र नेतृत्व क्षमताको विकास गर्ने विद्यालयको उद्देश्य झल्काएको थियो ।
विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले स्वागत मन्तव्य राखेका थिए । अभिभावक, शिक्षक र विद्यार्थीको उल्लेखनीय उपस्थिति भएको उक्त कार्यक्रममा प्रस्तुतिहरूले वातावरण उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन् ।



