बिर्तामोड, चैत ४ । झापाको झापा गाउँपालिकामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागी आज दिउँसो सवा ४ बजे भएको हो । झापा-५ सिमलडाँगी बस्ने मुस्ताफा अलीको टाटी बेरा र टिनको छानो भएको एकतले घरमा विद्युत सर्ट भएर आगो लागेको थियो ।
आगलागीबाट सुत्ने कोठा दुईवटा, गाईगोठ, भान्सा कोठा, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार, फ्रिज, रंगिन टेलिभिजन र घरनजिकै राखेको मे. ५ प २ १८६ नम्बरको मोटरसाइकलसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रहरी चौकी शरणामतीबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा टोली खटिएर भद्रपुरबाट आएको दमकल र स्थानीयको सहयोगमा साँझ ५ः१५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।





