२०८२ चैत्र ८ आइतबार
Jhapa Today
Adv top

तेस्रो रेडपाण्डा महोत्सवको तयारी धमाधम


बिर्तामोड, चैत ८ । इलामको सन्दकपुर गाउँपालिकामा हुने तेस्रो संस्करणको रेडपाण्डा महोत्सवको तयारी तीव्र पारिएको छ । लोपोन्मुख रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा महोत्सव हुँदै आएको छ ।

यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव यो वर्ष इलामको शीरमा रहेको सन्दकपुर गाउँपालिका–४ को कालपोखरी क्षेत्रमा आयोजना गरिनेछ । महोत्सवको आयोजना सन्दकपुर गाउँपालिकाले गर्दै आएको छ ।

महोत्सवको तयारीका लागि झापामा छलफल भएको छ । त्यस्तै, भारतको सिलिगुडीमा छलफल गरिँदैछ । पर्यटन कार्यालय काँकरभिट्टामा महोत्सवको आयोजक सन्दकपुर गाउँपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको हो ।

महोत्सवको मुख्य लक्ष्य स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली पदमार्गमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजक समितिका संयोजक सनम राईले बताए ।

यसअघि दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेडपाण्डा पदमार्ग महोत्सव ४३ किलोमिटर लामो पदमार्गसँग सम्बन्धित छ, जसले माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्छ ।

पदमार्गमा विभिन्न दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अध्ययन गर्न सकिन्छ । करिब ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यस पदमार्ग क्षेत्रमा १५ भन्दा बढी पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ ।

महोत्सवमार्फत ती गन्तव्यहरूको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक समितिका सदस्य सुजन तिम्सिनाले जानकारी दिए ।

रामसार सूचीमा रहेको माईपोखरीसँगै आहाल डाँडा, छिन्टापु, टोड्के झरना, छाँगे झरना, धप्पर झरना, दोबाटे, सुलुबुङ टारी, सुतुलुङ ढुंगा, ढाप पोखरी, हाङगेथाम, चोयाटार, जौँबारी, गैरीबास, कैयाकट्टा, माबुथाम, माबु, डाइमन्ड स्टोन, श्रीयाङजी ढुंगा, सोगेलाक्मालङ, बिखेभञ्ज्याङ, कालपोखरी, चौरीचोक घुम्नलायक गन्तव्य हुन् ।

विशेषगरी छिमेकी पश्चिम बंगालबाट भारतीय पर्यटक आकर्षित गर्ने योजना समेत रहेको छ । सन्दकपुर क्षेत्र पूर्वी पहाडी भूभागमा रेडपाण्डा अवलोकनका लागि प्रसिद्ध गन्तव्य मानिन्छ, जहाँ विश्वभरबाट पर्यटक पुग्ने गरेका छन् ।

महोत्सव अवधिभर आगन्तुकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, प्राकृतिक सौन्दर्य तथा सगरमाथासहित ६० भन्दा बढी हिमशृंखलाको दृश्यावलोकन गर्न सक्नेछन् । सन्दकपुर चार देशका ६० वटा हिमशृंखलाहरुको दृश्यावलोकन गर्ने विश्वको एक मात्र गन्तव्य हो ।

त्यस्तै, पर्यटकहरूका लागि विभिन्न आकर्षक कार्यक्रमहरू तय गरिएका छन् । पदयात्रा (हाइकिङ), विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता, पर्यटनसम्बन्धी समूहगत छलफल (प्यानल डिसकसन) तथा स्थानीय संस्कृति झल्काउने प्रस्तुति कार्यक्रमहरू मुख्य आकर्षण रहनेछन् ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन कार्यालय झापा, केचना–कञ्चनजंघा पर्यटन विकास समिति तथा रेडपाण्डा नेटवर्क लगायत संस्थाहरूले प्रवर्द्धन गर्ने भएका छन् ।

रेडपाण्डा संरक्षणसँग जोडिएको यस्तो महोत्सवले सन्दकपुर क्षेत्रमा पर्यापर्यटनको विकास गर्दै स्थानीय पर्यटन व्यवसायलाई थप टेवा पुग्ने अपेक्षा गरिएको केचना–कञ्चनजंघा पर्यटन विकास समितिका पूर्व कार्यकारी निर्देशक केशव धौरालीले बताए ।

Adv footer