
बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवार रहेका झापा बिर्तामोडका उमेश डालमिया मत माग्न व्यस्त छन् ।
तीन दशकदेखि उद्योग वाणिज्य क्षेत्रमै निरन्तर सक्रिय रहेका उनी महासंघको लगातार तीनपटक केन्द्रीय सदस्य र हाल व्यापार मेला समितिको सभापति छन् । आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
पूर्वी नेपालबाट महासंघमा जिल्ला नगर उपाध्यक्ष पदमा डालमियाको पहिलो उम्मेदवारी रहेको हो । यसअघि महासंघको इतिहासमा पूर्वी नेपालले जिल्ला नगर उपाध्यक्षमा आफ्नो प्रतिनिधित्व पाएको छैन ।
डालमियाले चुनावी दौडाहको क्रममा कोशीसहित मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा रहेका जिल्ला तथा नगर संघका नेतृत्वसँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो अजेन्डा सुनाएको बताए । अब बाँकी रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक साताभित्र भेटघाट गर्ने उनले सुनाए ।
धरानबाट सुरु भएको ६० वर्षीय डालमियाको यात्राले झापाको व्यावसायिक क्षेत्रमा दशकौँको अनुभव बटुलेको छ । उद्योग वाणिज्य क्षेत्रका विभिन्न तहमा नेतृत्व गरेको अनुभव उनीसँग छ ।
उनी जिल्ला तथा नगरका व्यवसायीहरूका समस्या तथा पीरमर्कालाई नजिकबाट बुझ्दछन् । साना तथा मझौला उद्यमीहरूलाई आफूले नजिकबाट बुझेकाले यस क्षेत्रका उद्यमीहरूका लागि सक्रिय भएर काम गर्ने उनको प्रतिबद्धता छ ।
जिल्ला र नगरका व्यवसायीहरूले भोग्नुपरेको दोहोरो कर, प्रशासनिक झन्झट, चर्को बैङ्क ब्याजदर र नीतिगत अस्थिरताले व्यवसाय बन्द हुने अवस्था आएकोप्रति उनी गम्भीर छन् ।
डालमियाले केन्द्र र जिल्लाबीचको दूरी हटाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन ‘डिजिटल प्लेटफर्म’ को प्रयोग गर्ने, कर नीतिमा सुधार गर्ने र साना तथा मझौला व्यवसायीलाई तालिम तथा प्रविधिको पहुँच पु¥याउने उनको योजना छ ।
त्यस्तै, मिक्सम्याचको समस्यालाई हल गर्न देशभरिमै आवाज उठाएका डालमियाले त्यसका लागि स्किमको व्यवस्था गर्दै साना तथा मझौला व्यवसायीको हितमा काम गरेका थिए ।
२०५१ सालमा तत्कालीन झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको सदस्य भएका उनी संघको सचिव हुँदै २०५६ सालमा अध्यक्ष बने । त्यसपछि डालमिया झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल उपाध्यक्ष र २०६८ देखि २०७२ सम्म अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए ।
पछिल्लो दशक सञ्चार उद्यमीका रुपमा चिनिएका डालमियाको हिमालय सिमेन्ट, दुर्गा स्टिल, डालमिया ट्रेडिङ, भ्रमण आइरन लगायतका उद्योग व्यापारमा नेतृत्वदायी संलग्नता रहँदै आएको छ ।




