२०८२ चैत्र १० मंगलबार
Jhapa Today
Adv top

आगामी आवको बजेट १८ खर्ब ९० अर्ब


बिर्तामोड,चैत १० । आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट तर्जुमा कार्यतालिका ९बजेट क्यालेन्डर० तयार भएको छ । अर्थ मन्त्रालयका अनुसार सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ)उपलब्ध गराई सोहीअनुसार चैत १५ भित्र आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा प्रविष्ट गरिसक्न भनिएको छ ।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार नयाँ बन्न लागेको सरकारले कस्तो नीति तथा कार्यक्रमसहित बजेट ल्याउँछ भन्ने स्पष्ट नभइसकेको अवस्थामा बजेट निर्माणको प्रक्रिया अगाडि बढाउनुपरेको हो ।

‘बजेट आर्थिक विषयमात्र नभई राजनीतिक नीतिसँग जोडिएको विषय पनि हो । नयाँ बन्ने सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउँछ, चुनावी घोषणापत्रमा राखिएका विषयहरू बजेटमा कसरी सम्बोधन हुन्छन् भन्नेलगायत पक्षलाई हेरेर आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम तय गर्नुपर्ने हुन्छ’, उनले भने ।

आगामी आवका लागि सरकारले लिने कर नीतिबारे हाल राजस्व परामर्श समिति गठन भई अध्ययनको काम भइरहेको र आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको प्रगति विवरण (पहेँलो किताब) तयार पार्ने काम पनि भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए।

आगामी आव २०८३/८४ को बजेट बनाउने काम भने गत पुसबाटै सुरु भइसकेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेट तर्जुमासम्बन्धी कार्यतालिकाअनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि उपलब्ध स्रोत र खर्च गर्न सकिने सीमाको पूर्वानुमान (बजेट सिलिङ) तयार पारी अर्थ मन्त्रालयलाई बुझाइसकेको छ भने अर्थ मन्त्रालयले पनि सबै विषयगत मन्त्रालयलाई बजेट सिलिङ पठाइसकेको छ । आगामी आवका लागि करिब १८ खर्ब ९० अर्ब हाराहारीको बजेट ल्याउन सकिने गरी सिलिङ तयार पारिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

नयाँ सरकार गठनमा ढिलाइ हुँदा बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरू तयार पार्ने काम भने प्रभावित भएको छ । राजनीतिक अस्थिरताका कारण तोकिएको समयमा बजेट बनाउन नसक्ने अवस्था बारम्बार सृजना भएपछि जेठ १५ मा अनिवार्य रूपमा सदनमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था बनाइएको छ ।

Adv footer