
बिर्तामोड, चैत १०। साताको तेस्रो कारोबारका दिन आज पनि सेयर बजार उच्च अंकले बढेको छ ।
मंगलबार २३.८३ अंकले बढ्दै बजार २९६०.४० को बिन्दुमा उक्लिएको छ । समग्रमा मंगलबार बजार ०.८१ प्रतिशतले बढ्यो ।
मंगलबार सेयर बजारले छोएको बिन्दु ८ महिनायताकै उच्च हो । गएको साउन १३ मा बजारले ३००२.०७ को बिन्दुलाई छोएको थियो । त्यसपछि बजार ओर्लिँदै २५ सयको बिन्दुसम्म झरेको थियो ।
बजारमा सूचक बढे पनि मंगलबार कारोबार रकम भने बढ्न सकेन । ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँमाथिको भयो । यसअघि सोमबार कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँमाथि थियो ।
बजार बढ्दै गर्दा आज ५ समूहको सूचकमा करेक्सन देखियो भने ८ समूहको सूचक बढ्यो । सबैभन्दा बढी व्यापारको सूचक ९.१२ प्रतिशतले वृद्धि भयो ।
कम्पनीगतरूपमा १३६ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ को मूल्य स्थिर रह्यो । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमै वृद्धि भयो ।
चुनावको नतिजापछि बजार लगातार जसो उकालोमा छ । गएको साताको मंगलबार करेक्सन आएको बजारमा त्यसयता लगातार वृद्धि भइरहेको छ ।




