
बिर्तामोड, चैत १९ । यो शैक्षिकसत्रको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि सुरु हुँदैछ । परीक्षका लागि देशभरका सरकारी विद्यालयमा केन्द्र तोकिएको छ ।
झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी एसइइमा सहभागी हुँदैछन् । नियमित परीक्षार्थी १५ हजार ४०१, नियमित प्राविधिक धारतर्फ ५७४ र बाँकी ग्रेडबृद्धि परीक्षार्थी छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेतका अनुसार परीक्षामा सामुदायिक १६३ र संस्थागत २४५ गरी ४०८ वटा विद्यालय सहभागी हुँदैछन् ।
नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्र तथा ग्रेडबृद्धितर्फ १ हजार २०९ छात्रा र १ हजार ५३ छात्र परीक्षामा सहभागी हुन लागेको बस्नेतले जानकारी दिएका छन् ।




