बिर्तामोड, चैत ३० । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–३ धाइजनस्थित मेची राजमार्गमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.–१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट जाँदै गरेको को. ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँएका थिए ।

दुर्घटनामा प्र–१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सुनसरी धरान–१५ का २७ वर्षीय मणिकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनिश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन् ।
उनीहरूको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।




