२०८३ बैशाख २४ बिहीबार
Jhapa Today
Adv top

यसपालि मनसुनमा कम वर्षा र बढी गर्मी हुने


बिर्तामोड, बैशाख २४ । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । यसपालि चैत र बैशाखमा भने निरन्तरजस्तै वर्षा भइरहेको छ ।

प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको तटस्थताका कारण यस वर्ष मनसुन कमजोर हुने आँकलन गरिएको हो । यद्यपि नेपालका कुनैकुनै भागमा भने बढी वर्षा हुने अनुमान छ ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन अवधिको मे–सेप्टेम्बर महिनामा दक्षिण एसियाको उत्तर–पश्चिमी, उत्तर–पूर्वी र दक्षिणी क्षेत्रका केही भागहरूमा सामान्य वा सामान्यभन्दा बढी वर्षा हुनेछ ।

नेपालका पूर्वी भागहरू ‘सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने’ भनिएको उत्तर–पूर्वी क्षेत्र नजिक पर्दछन् । तर, ठुलो हिस्सा भने ‘कम वर्षा’ हुने भनिएको मध्य क्षेत्रमा पर्दछ । त्यसैले नेपालका कुनै–कुनै ठाउँमा धेरै वर्षा भए पनि समग्रमा कम वर्षा हुने अनुमान गरिएको हो ।

आगामी जेठ १५ देखि साउन १५ (जुन र जुलाई) सम्मको समय सुक्खा हुने सम्भावना छ । मनसुनको यो अनिश्चितताले देशको कृषि र जलविद्युत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै गएर नेपालमा एकदम धेरै वर्षा हुने जुलाईको समयमा कम पानी पर्ने सम्भावना छ ।

Adv footer