२०८३ बैशाख २४ बिहीबार
Jhapa Today
Adv top

चियामा भारतको ‘अघोषित नाकाबन्दी’


बिर्तामोड, बैशाख २४ । नेपालबाट हुने चिया निर्यात प्रक्रिया एकाएक परिवर्तन गर्दै भारतीय चिया बोर्डले १ मे (१८ बैशाख) देखि लागु हुनेगरी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेसँगै नेपाली चिया निर्यात ठप्प बनेको छ ।

भातरले नयाँ नियमअनुसार अब नेपालबाट भारत छिर्ने चियाको प्रत्येक ट्रक र प्रत्येक खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेको छ । पछिल्लो समय भारतमा आयात हुने चियाको मात्रा बढेसँगै त्यसमा मिसावटको जोखिम पनि उच्च भएको भन्दै त्यहाँको संसदीय समितिले कडा निगरानी गर्न सिफारिस गरेको थियो ।

यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएकोमा अहिले ट्रकपिच्छे ११ हजार १२० भारु शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो प्रावधान राखिएको छ ।

परीक्षण क्रममा तोकिएको मापदण्ड पूरा गर्न नसकी फेल भएको चियालाई कुनै पनि हालतमा क्लियरेन्स दिइने छैन र यसबारे आयातकर्तालाई तत्काल ‘अलर्ट मेसेज’ पठाइने छ ।

यद्यपि, पहिलो परीक्षणमा चिया फेल भई नतिजामा चित्त नबुझे आयातकर्तालाई टी–बोर्डसँग सुरक्षित राखिएको अर्को ‘रिजर्भ नमुना’ को पुनः परीक्षण गराउने विकल्प पनि खुला राखिएको छ ।

नेपालबाट वार्षिक ठुलो मात्रामा सिटिसी र अर्थोडक्स चिया भारततर्फ निर्यात हुने गर्छ । नेपाली चिया उद्योगी तथा निर्यातकर्ताले आफ्नो चियाको गुणस्तर भारतीय खाद्य सुरक्षा मापदण्डअनुसार अत्यन्तै कडाइसाथ कायम राख्नुपर्ने चुनौती थपिएको छ ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतले चिया रोक्ने औपचारिक घोषणा नगरे पनि व्यावहारिक रूपमा निर्यातलाई असम्भव तुल्याइदिएको छ । यसलाई ‘अघोषित नाकाबन्दी’ नै भन्दा फरक नपर्ने उनको भनाइ छ ।

भारतको पानीट्यांकी भन्सारमा चिया लोड भएका ट्रकहरू १० दिनसम्म रोकेर राख्ने ठाउँ नभएको उनको गुनासो छ ।
यसैबीच, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भारतको नयाँ नियमले पारेको गम्भीर असरबारे सरोकारवालासँग छलफल गरी लिखित प्रतिवेदन सम्बन्धित मन्त्रालयमा बुझाइसकेको जनाएको छ ।

उत्पादन र निर्यात अवस्था
पछिल्लो समय नेपालले वार्षिक करिब ४ अर्ब मूल्य बराबर चिया निर्यात गर्दै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले मुलुकको २० हजार ६ सय २ हेक्टर भूभाग चिया बगानले ओगटेको देखाउँछ । जहाँबाट वार्षिक २ करोड ६१ लाख २३ हजार १ सय ११ किलो तयारी चिया उत्पादन हुने गरेको छ ।

यस व्यवसायमा १५ हजार १ सय ३२ साना किसान प्रत्यक्ष सहभागी छन् भने देशभरि १ सय ७० ठुला बगान (टि–स्टेट) सँगै १ सय २० वटा साना तथा मझौला प्रशोधन इकाइ सञ्चालनमा छन् । बगानदेखि उद्योगसम्मको शृङ्खलामा करिब ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा चियाको मुख्य आधार कोशी प्रदेश हो, जसमा झापा जिल्ला उत्पादनको अग्रणी स्थानमा छ । झापाको १० हजार ३ सय ४० हेक्टर क्षेत्रफलबाट १ करोड ९५ लाख ६६ हजार ७ सय ९५ किलो चिया उत्पादन हुन्छ, जसमा मुख्य हिस्सा सिटिसी चियाको छ ।

गुणस्तरीय अर्थोडक्स र ग्रिनटीको पर्याय बनेको इलाममा ७ हजार ३ सय ९ हेक्टरमा खेती फैलिएको छ । यहाँबाट ६२ लाख ९१ हजार ३ सय ७३ किलो चिया उत्पादन हुन्छ ।

त्यस्तै, पाँचथर, धनकुटा, तेह्रथुम र ताप्लेजुङ जस्ता पहाडी जिल्लाले पनि अर्थोडक्स चिया उत्पादनमा आफ्नो पहिचान बलियो बनाएका छन् । पछिल्लो चरणमा भोजपुर, दोलखा, नुवाकोट र कास्कीसम्म यसको व्यावसायिक विस्तार भइरहेको छ ।

गत आव २०८१/८२ मा मात्रै १ करोड ५५ लाख ९८ हजार ६ सय ६० किलो चिया वाह्य मुलुक पठाएर नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । सोही अवधिमा ९ करोड २ लाख ९० हजार बराबरको १ लाख १३ हजार ३ सय ७२ किलो चिया आयात भएको तथ्यांक छ ।

Adv footer