२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा लागु हुँदै समुदायमा सरकारी वकिल कार्यक्रम


शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहमा सरकारी वकिलको काम, कर्तव्य र अधिकारको बारेमा सर्वसाधरणलाई प्रस्ट पार्न समुदायमा सरकारी वकिल कार्यक्रम सुरु भएको छ ।
समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी वकिलको कार्यालय झापाले जनाएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले हरेक पालिकामा न्यायिक समिति भए पनि कस्ता प्रकृतिका मुद्दा पालिकाले हेर्ने भन्ने विषयको अन्योल समाप्त भएको बताए । स्थानीय सरकार गठनपछि सरकारी वकिलको कार्यालयले सर्वसाधरणसँग पहिलोपटक पालिकामै साक्षात्कार सुरु गरेको जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले बताए ।
सरकारी वकिलको सांगठनिक संरचना, काम, कर्तव्य एवम् समग्र समुदायप्रति यसको दायित्व दर्शाउन कार्यालयले मेचीनगर नगरपालिकाबाट अभियान नै सुरु गरेको छ । मंसिर ४ गतेदेखि सुरु भएको यो अभियान दमक नगरपालिका र बाह्रदशी गाउँपालिका हँुदै शुक्रबार शिवसताक्षी नगरमा आइपुगेको छ । शिवसताक्षी नगरका भएको साक्षात्कारमा अधिकांशले ‘‘समुदायमा सरकारी वकिल” कार्यक्रमको समयावधि अपर्याप्त भएको गुनासो गरे । सहभागीमध्येका श्रीप्रसाद खरेलले सर्वसाधरणले कानुन र संविधानमा उल्लेख भएका फौजदारी र देवयानी प्रकृतिका मुद्दाको सजायका बारेमा न्यूनतम ज्ञान नहँुदा सर्वसाधरण विचौलियाको फन्दामा पर्नुपर्ने तितो यथार्थ सुनाए । जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनालले सरकारी वकिलको कार्यालय पालिकामै आएर सर्वसाधरणसँग आफ्ना कुरा र सर्वसाधरणका राय संकलन गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव पेस गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए भने सरकारी वकिलको कार्यालय झापाले तयार पारेको कार्यपत्र सहायक जिल्ला न्यायाधिवक्ता कल्याण पराजुलीले प्रस्तुत गरेका थिए ।
सरकारी वकिलको कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त आयोजनामा भएको कार्यक्रममा सर्वसाधणका गुनासो समेत सुनवाई भएको थियो । जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्त, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सर्वसाधणको गुनासा सुनेर जवाफ दिएका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, जिल्ला अदालत झापाका रजिस्टार्ड दर्गा खनाल, अधिवक्ता लक्ष्मी अधिकारीलगायतले आर्थिक लाभ लिएर मुद्दा मिलाइदिने प्रलोभन कोही कसैले दिए सिधै प्रहरी वा सरकारी वकिलको कार्यालयमा खबर गरिदिन आग्रह समेत गरे । अधिवक्ता अधिकारीले निजी वकिलको पान नम्बर, फर्म र प्रमाणपत्र नम्बर सोधेर आएको जवाफमा मात्र मुद्दाको सहजी करणका लागि अख्तियारी दिएर दलाल वकिलबाट बच्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा पालिकाका सदस्य, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, उद्योगी व्यवसायीको सहभागिता थियो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले स्वागत गरेको कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी अशोककुमार शाक्यको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यालयका राम पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer