२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रणामी मन्दिर स्वर्ण महोत्सवमा मोटरसाइकल र्याली


बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।

उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी यही फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमसहित मनाउन लागेको स्वर्ण महोत्सवको तयारी लगभग पूरा भएको स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले जानकारी दिएका छन् ।

स्वर्ण महोत्सव एवम् साताव्यापी श्री १०८ सागर पाठ पारायण श्रीमद् देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा) का लागि मन्दिर परिसरमा आवश्यक पण्डाल तथा आकर्षक स्वागतद्वार निर्माण भइसकेका छन् भने आगन्तुक पाहुनाहरुका लागि आवास तथा खानपानको व्यवस्थापन भइसकेको बताइएको छ । यसैगरी, महोत्सवको प्रचार–प्रसारका लागि झापाको दमकदेखि पूर्वीद्वार काँकरिभट्टासम्म १० वटा स्वागतद्वार निर्माण भइसकेको छ ।

यसैबीच, महोत्सवलाई भव्य र सफल बनाउन प्रचारात्मक अभियानसहित सोमबार बृहत् धार्मिक मोटरसाइकल र्याली सम्पन्न गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषदको व्यवस्थापनमा मन्दिर परिसरबाट निस्किएको र्याली पूर्वतर्फ कनकाईबाट दक्षिण घैलाडुब्बा हुँदै विर्ताबजार निस्किएर बिर्तामोड हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको श्रीकृष्ण प्रणामी युवा परिषद चारपाने प्रारम्भिक समितिका अध्यक्ष युवराज कट्टेलले जानकारी दिए । र्यालीको उद्घाटन मूल आयोजक समितिका अध्यक्ष युवा सन्त गादीपति जगतनन्दन शास्त्रीजी महाराज र महासचिव शारदाप्रसाद थपलियाले संयुक्त रुपमा गरेका थिए ।

महोत्सवकै अवसरमा मंगलबार श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको आगमन हुने र उनको स्वागततार्थ सम्पूर्ण सुन्दरसाथहरु काँकरभिट्टा पुग्ने र महाराजलाई बाजागाजा र र्यालीसहित मन्दिर परिसरमा ल्याउने कार्यक्रम रहेको युवा परिषद झापाका उपाध्यक्ष टहलदास ओलीले जानकारी दिए ।

यसैगरी, प्रदेशस्तरीय युवाहरुको बृहत भेला पनि आयोजना गरिएको छ भने बुधबार श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय भेला पनि मन्दिर पसिरमा सम्पन्न हुने समितिअन्तर्गतको श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer