२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यालय ९ बजेदेखि ४ बजेसम्म चलाउने तयारी


बिर्तामोडको देवी मावि । तस्वीर : प्रधानाध्यापक अम्बिका श्रेष्ठको फेसबुक

झापा, चैत ३ । सरकारले देशभर लागु हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एकजना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको छ, हामी पनि सरोकारवालासँग छलफल गरिरहेका छौँ ।’

विद्यालय समय ९–४ नै किन ?

विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।

‘खासगरी काठमाडौँ उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो’, शिक्षा सचिव दाहालले भने ।
यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौँ जाम हुने समस्या छ ।

त्यसैले नयाँ समय लागु गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरेको हो । प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँग छलफल गरेको थियो ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय लागु गराउने विषयमा सरोकारवालासँग छलफल गर्दै आएको छ । यसमा आवश्यक सुझाव दिन शिक्षा शाखा प्रमुख कृष्णप्रसाद काप्रीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । -अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer