२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वृन्दावन तथा पर्यटकीय क्षेत्र बनाउँदै तेलपानी वन


झापा । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न तयारी सुरु गरिएको हो ।

‘अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहित वनलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउन समूहले तयारीलाई तीव्र बनाएको छ’, समूहका अध्यक्ष शेरबहादुर थापाले भने, ‘वन क्षेत्रलाई ५ वटा विभिन्न ब्लकमा विभाजन गरिएको छ, अधिकांश क्षेत्रलाई पर्यापर्यटन क्षेत्र बनाउने समूहको सोच हो’, उनले भने, ‘त्यसका लागि झन्डै ६ करोड रुपैयाँ बजेट पूर्वानुमान गरेका छौँ ।’

वनको आन्तरिक स्रोतबाट डेढ लाख रुपैयाँ लगानी र स्थानीय युवाको श्रमदानमा १ महिनाअघिदेखि पर्यापर्यटनका लागि आवश्यक काम भइरहेको समूहका सदस्य सचिन निरौलाले बताए । वनबाट विनियोजित रकमले इनार खन्ने, पानीको ट्यांकी र स्टेन खरिद, पानी तान्ने मोटर खरिद, पानीको पाइप लाइन र विद्युत विस्तारलगायतका काम सम्पन्न भएको निरौला बताउँछन् । ‘टहरा निर्माण, रंगरोगन जस्ता कामका लागि स्थानीय युवा स्वयमसेवकका रुपमा खटिँदै आएका छन्’, उनले भने, ‘दैनिक १२ जना युवाले श्रमदान गर्दै आएका छन्, कहिलेकाहीँ त ५० जना युवा खट्छन् ।’

वन परिसरलाई आन्तरिक तथा बाह्य पर्यटक र धार्मिक व्यक्तित्वको गन्तव्यस्थलका रुपमा चिनाउन गुरुयोजनासहित निर्माण कार्य द्रुत गतिमा भइरहेको समूहले जनाएको छ । ‘भौगोलिक रुपमा यो ठाउँ आफैँमा रमणीय छ, यहाँको वातावरण पर्यटकमैत्री छ’, निरौला भन्छन्, ‘खोलानाला, वन भएका कारण यसले धार्मिक र पर्यटकीय महत्व बोकेको छ ।’

प्राकृतिक रुपमा सुन्दर सो क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न भौतिक पूर्वाधारको विकास आवश्यक रहेको समूहका अध्यक्ष थापा बताउँछन् । भगवान् श्रीकृष्ण बसेको ढुंगाको कुर्सीलाई कुर्सी ढुंगाको रुपमा, रातो माटो भएको सुन्दर डाँडोलाई रातमाटे, चाँप गैरी, पाथिभरा, सालबन्दी सीमसार, वनभोजस्थल, वनको सबै ब्लकलाई जोड्ने पदमार्ग, सुमेरु पर्वत, हात्ती आहाल खेल्ने ठाउँलाई प्रवद्र्धन गरिने समूहको योजना छ ।

त्यस्तै, यमुना नदी नाम दिइएको खोलालाई राधाकुण्ड नामक ताल, सडकदेखि डाँडो भागसम्म जोड्ने झोलुंगे पुल, जंगलभित्र ठाउँठाउँमा चराचुरुंगी र वन्यजन्तु आहाल खेल्ने पानीको दह बनाउने योजना समूहले अघि सारेको छ ।

समूहको आन्तरिक स्रोतबाट पर्यापर्यटन विकास खर्च शीर्षकमा यमुना नदीमा ड्याम कसेर राधाकुण्ड नामक ताल निर्माण गर्ने प्रक्रिया सुरु गरिएको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार साझेदारी कार्यक्रमअन्तर्गत समूह र दातृ निकायको समन्वयमा वन परिसरभित्र विभिन्न स्थानमा ध्यान केन्द्र निर्माणको अवधारणा अघि सारिएको छ ।

स्थानीय बेरोजगार युवा वर्गलाई स्वरोजगार बनाउने र पर्यटकलाई सुविधा प्रदान गर्ने उद्देश्यले उक्त पर्यटकीय गन्तव्यस्थलमा समुदायस्तरबाट होमस्टे सञ्चालन गरिने समूहका सदस्य निरौलाले बताए ।
‘आगामी वर्ष पर्यटन क्षेत्रका न्यूनतम पूर्वाधार बिजुली, टहरालगायत पूरा गर्ने लक्ष्य राखेका छौँ’, उनी भन्छन्, ‘मेचीनगर नगरपालिकाले खानेपानी, शौचालयलगायत व्यवस्थापनका लागि साढे ४ लाख रुपैयाँ उपलब्ध गराउने सुनेका छौँ ।’

स्वस्थानी माता, लक्ष्मी नारायण, हनुमानलगायत देवीदेवताका मन्दिरको निर्माण कार्य सुरु गरिएको उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको ब्लक नम्बर २ मा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

ब्लक नम्बर ३ मा घना जंगल र ४ मा वन कार्यालय रहेको उक्त पर्यटकीय क्षेत्रको गत चैत २२ गते मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer