२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमण रोक्न मकैबारी र बगरमा प्रहरी


सुकुमबासी बस्ती (झापा), बैशाख ३ । खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालतर्फ सुरक्षा व्यवस्था मजबुद बनाइएको छ ।

सीमावर्ती क्षेत्रका नाकामा यसअघि नै सशस्त्र प्रहरी बलका पोस्टहरु तनाथ भए पनि कोरोनाको भय बढेपछि सहायक बाटो र गोरेटोहरुमा प्रहरीको अस्थायी पोस्ट स्थापना गरिएको छ । दक्षिणी सीमा क्षेत्रमा अधिकांश कृषकले मकै खेती गरेका कारण मानिसको आउजाउ यकिन गर्न भने प्रहरीलाई कठिन भइरहेको छ ।

यसबीच, सीमित जनशक्ति रहेको प्रहरीले मात्र सीमाको सुरक्षा गर्न सम्भव नभएपछि प्रहरीले नै स्थानीयलाई समेटेर सीमा सुरक्षा समिति गठन गरेको छ । झापामा दक्षिण–पश्चिम गौरीगञ्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म १४४ किलोमिटर खुला सीमा छ । सीमाका नेपाली र भारतीयबीच एकै देशका छिमेकीजस्तो सम्बन्ध छ । सीमाका अधिकांश भारतीयले नेपालीको खेती गर्दै आएका छन् ।

लक डाउनको समयमा पनि नेपाली भूमिमा खेती गर्दै आएका भारतीयहरु नेपाल आउने गर्थे । तर, एक हप्तादेखि सीमामा जनपथ र सशस्त्र प्रहरी बस्न थालेपछि भारतीयहरु आउने क्रम बन्द भएको झापा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजु भारती बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार सीमामा कडाइ गर्न स्थानीयको संलग्नतामा सीमा सुरक्षा समिति गठन गरिएको छ । झापामा १६ वटा स्थानीय समिति बनाइएको उनले बताए ।

समितिहरूले प्रहरीलाई सहयोग गरिरहेका छन् । समितिका सदस्य प्रहरी पुग्न नसकेको ठाउँ र प्रहरीसँगै गस्ती गर्छन् । मकैबारी वा खेत हुँदै भारतबाट कोही नेपाल प्रवेश गरे समिति सदस्यहरुले रोक्ने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाका सबै खुला सीमामा २२० जना सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरीका १०० र सशस्त्र प्रहरीका १२० जना सुरक्षाकर्मी खटाइएका छन् । उनीहरूले खेती गर्न नेपाल आउने भारतीयलाई समेत रोक्ने गरेका छन् । सीमामा खटाइएका प्रहरीहरू भारतीय प्रवेश गर्ने बाटो रहेका स्थानहरूमै बसेका छन् ।

सीमामा बसेका प्रहरी अस्थायी पाल टाँगेर बसेका छन् । चर्को घाममा उनीहरु सीमामा कोरोनाको जोखिम रोक्न खटिएका छन् । आइतबार कचनकवलमा प्रहरीले बनाएको अस्थायी टहरा हावाले भत्काइदियो । उनीहरूसँग ओत लाग्ने छानो नै भएन । दुई घन्टाभन्दा लामो समय पानीमा भिजेपछि प्रहरी दुई किलोमिटर टाढा रहेको पथरिया प्रहरी चौकी पुगे । तैपनि प्रहरीले गस्ती गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer