२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

श्रमिक र कर्मचारीको स्वास्थ्यप्रति युनिकमको चासो


बिर्तामोड, बैशाख ५ । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भीर बन्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितिमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति युनिकमले गम्भीर चासो व्यक्त गरेको हो ।

व्यापार क्षेत्रका श्रमिक र कर्मचारीहरुका रोजगारदाता र प्रतिष्ठानलाई युनिकमले संकटमा अभिभावकीय भूमिका निर्वाह गर्न अपिल पनि गरेको छ । लक डाउनका समयमा कार्यक्षेत्रमा नखटिने श्रमिक र कर्मचारीको नियमित तलब सुविधा नरोक्न उसले प्रतिष्ठानसमक्ष आग्रह गरेको छ ।

यसैगरी, यो अवधिमा काममै खटिएका कर्मचारी र श्रमिकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन पनि युनिकम नेपालले माग गरेको छ । विषम परिस्थितिमा खटिने कर्मचारीलाई अतिरिक्त परिश्रमिकको पनि प्रबन्ध गर्न माग गर्दै युनिकमले रोजगारदाता र प्रतिष्ठानहरुलाई पनि यथेष्ट सहयोग गर्न वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले शुक्रबार विज्ञप्ति निकालेर वर्तमान जटिल परिवेशमा आवश्यक समन्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संघसंस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् ।

यसैगरी, सहकारी संस्थाहरुमा कार्यरत कतिपय कर्मचारी र बजार प्रतिनिधिहरुलाई सुरक्षा सामग्री उपलब्ध नभएको गुनासोप्रति पनि युनिकम नेपालले चासो व्यक्त गरेको छ । उसले संगठित असंगठित सबै क्षेत्रका मजदुर कर्मचारीको न्यूनतम सुविधा र स्वास्थ्यप्रति राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने जिकिर गरेको छ ।

काठमाडौँसहित ठुला सहरबाट मजदुरहरु कष्टकर रुपमा गाउँ फर्किरहेको परिस्थितिप्रति तत्काल राज्यले सम्बोधन गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer