२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

संसारभर कोरोना संक्रमित २४ लाख नाघ्यो


मृत्यु हुनेको संख्या १ लाख ६५ हजार

-हिमाल खरेल
बिर्तामोड, बैशाख ८ । विश्वभर एक लाख ६५ हजार ४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २४ लाख ६ हजार २३५ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७५ हजार ४६७ जनामा देखिएको छ भने ४ हजार ९५७ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ७ लाख ८९ हजार ९१७ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ६ लाख २४ हजार ९१३ जना उपचारपछि घर फर्किएका छन् । सफल उपचार र निधन भएकाबाहेक १६ लाख १६ हजार ३१८ जनामध्ये चार प्रतिशत अर्थात ५४ हजार २२५ जनाको अवस्था दयनीय छ । बाँकी १५ लाख ६२ हजार ९३ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ४० हजार ५४८ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार ५३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २५ हजार ५११ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १३ हजार ५६६ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म एक लाखभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २३ हजार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८, बेलायतमा १६ हजार ६०, बेल्जियममा ५ हजार ६८३, जर्मनीमा ४ हजार ६४२, नेदरल्यान्ड्समा ३ हजार ६८४, टर्कीमा २ हजार १७, स्विडेनमा १ हजार ५४० र स्विटजरल्यान्डमा १ हजार ३९३ ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ६३ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ११८, ब्राजिलमा २ हजार ४६२ र क्यानाडामा १ हजार ५८७ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ४ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा १६ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ५५९ जना संक्रमितको मृत्यु भएको छ । १७ हजार ६१५ जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८ जनाको मृत्यु भएको छ भने १ हजार २५० जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ७ लाख ६४ हजार ३०३ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा १ लाख ९८ हजार ६७४, इटलीमा १ लाख ७८ हजार ९७२, फ्रान्समा १ लाख ५२ हजार ८९४, जर्मनीमा १ लाख ४५ हजार ७४२, बेलायतमा १ लाख २० हजार ६७, टर्कीमा ८६ हजार ३०६, चीनमा ८२ हजार ७३५ र इरानमा ८२ हजार २११ जना संक्रमित पुगेका छन् ।

नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । आइतबार थप एकजना कैलालीका युवा कोरोना जितेर घर फर्किएका छन् । शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका थिए । शनिबार थप एकजना विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २९ हजार ५६७ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer