२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा पुगे ४२ कोरोना संक्रमित


बिर्तामोड, बैशाख १० । नेपालका कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार मात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३ जना र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन् ।

थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच, उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’ मा प्रवेश गरेको छ ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । उनका अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो ।

विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ । लकडाउन, सामाजिक दूरीको अलावा सम्भावित संक्रमितको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ । तेस्रो चरणसम्म आइपुग्दा एउटाबाट अर्कोमा मात्र होइन यसको संख्या अझ बढ्दै जाने भएकाले पनि थप सतर्क हुन आवश्यक रहेको उनको विचार थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’ मा प्रवेश गरेको जानकारी गराएको थियो । नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन् । त्यससँगै पहिलोपटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो ।

नेपालमा देखिएका संक्रमितमध्ये पहिलोपटक विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोनाभाइरसको संक्रमणलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्समिसन’ भनिएको थियो ।

दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए । नेपालमा पाँचजना संक्रमित निको भएर घर फर्किएका छन् भने ३८ जनाका उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer