२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमित २५ लाख ५५ हजार नाघे


मृत्यु हुने १ लाख ७८ हजारनजिक

-हिमाल खरेल
बिर्तामोड, बैशाख १० ।
विश्वभर एक लाख ७७ हजार ४१९ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २५ लाख ५४ हजार ९८२ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७४ हजार ४७९ जनामा देखिएको छ भने ७ हजार २२ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ८ लाख ६७ हजार ५४८ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ६ लाख ९० हजार ३९ जना उपचारपछि घर फर्किएका छन् । सफल उपचार र निधन भएकाबाहेक १६ लाख ८७ हजार ५२४ जनामध्ये तीन प्रतिशत अर्थात ५७ हजार २३९ जनाको अवस्था दयनीय छ । बाँकी १६ लाख ३० हजार २८५ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ४५ हजार २९६ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ७८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २५ हजार ६०७ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १४ हजार १६ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २४ हजार ६४८, स्पेनमा २१ हजार २८२, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७, बेल्जियममा ५ हजार ९९८, जर्मनीमा ५ हजार ८६, नेदरल्यान्ड्समा ३ हजार ९१६, टर्कीमा २ हजार २५९, स्विडेनमा १ हजार ७६५ र स्विटजरल्यान्डमा १ हजार ४७८ ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ६३ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार २९७, ब्राजिलमा २ हजार ७४१ र क्यानाडामा १ हजार ८३४ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ६ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा ११ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ ६४५ जना संक्रमितको मृत्यु भएको छ । २० हजार ८० जना संक्रमित पहिचान भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ जनाको मृत्यु भएको छ भने १ हजार ५४१ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ८ लाख १८ हजार ३६६ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख ४ हजार १७८, इटलीमा १ लाख ८३ हजार ९५७, फ्रान्समा १ लाख ५८ हजार ५०, जर्मनीमा १ लाख ४८ हजार ४५३, बेलायतमा १ लाख २९ हजार ४४, टर्कीमा ९५ हजार ५९१, इरानमा ८४ हजार ८०२, चीनमा ८२ हजार ७५८ र रुसमा ५२ हजार ७६३ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer