२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो


संसारभर २७ लाख १६ हजार संक्रमित

-हिमाल खरेल
बिर्तामोड, बैशाख १२ ।
विश्वभर १ लाख ९० हजार ४२२ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ८२९ जनामा देखिएको छ भने ६ हजार ३५६ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ९ लाख ३५ हजार ४६७ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ७ लाख ४५ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १७ लाख ८० हजार १४७ जनामध्ये तीन प्रतिशत अर्थात ५८ हजार ६७८ जनाको अवस्था दयनीय छ । बाँकी १७ लाख २१ हजार ४६९ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ४९ हजार ७६९ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २ हजार ११० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३० हजार ७१३ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १४ हजार ९९७ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख १४ हजार २५९ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८, बेल्जियममा ६ हजार ४९०, जर्मनीमा ५ हजार ५७५, नेदरल्यान्ड्समा ४ हजार १७७, स्विडेनमा २ हजार २१ र स्विटजरल्यान्डमा १ हजार ५४९ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ६० प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ४८१, ब्राजिलमा ३ हजार ३१३, टर्कीमा २ हजार ४९१ र क्यानाडामा २ हजार १४७ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ८ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा १० जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १६ औँ स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म ७२१ जना संक्रमितको मृत्यु भएको छ । २३ हजार ३९ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० जनाको मृत्यु भएको छ भने १ हजार ६६९ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ८ लाख ७९ हजार ४३० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख १३ हजार २४, इटलीमा १ लाख ८९ हजार ९७३, फ्रान्समा १ लाख ५८ हजार १८३, जर्मनीमा १ लाख ५३ हजार १२९, बेलायतमा १ लाख ३८ हजार ७८, टर्कीमा १ लाख १ हजार ७९०, इरानमा ८७ हजार २६, चीनमा ८२ हजार ७५८, रुसमा ६२ हजार ७७३ र ब्राजिलमा ४९ हजार ४९२ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer