२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

दमकका ६२ वर्षीयमा कोरोना संक्रमण, नेपालमा ४९ संक्रमित


१० जना निको भएर फर्किए घर

बैशाख १२ गते निको भएर घर फर्किनुअघि बागलुङकी अंशु सापकोटा ।


बिर्तामोड, बैशाख १२ । झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

आइसोलेसनमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालमा कोभिड १९ पुष्टि भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।

संक्रमितका छोरा चैत ४ गते दुबईबाट घर आएको खुलेको छ । विमानबाट काठमाडौँ ओर्लिएका उनी बस चढेर घर पुगेका थिए । विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बुवा र श्रीमतीको टेस्ट गरिएको थियो । श्रीमतीबाहेक सबैको आरडिटी पोजेटिभ आएको थियो ।

त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अरु सबैको रिजल्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएका ६२ वर्षीय बुवा डाइबेटिजको बिरामी भएको पाइएको छ । तर, परिवारका कुनै सदस्यमा पनि लक्षण देखिएको थिएन ।

चारैजनालाई तत्काल दमक अस्पतालको आइसोलेसनमा भर्ना गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । दमक नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार दमक अस्पतालको आइसोलेसन वार्डमा २ महिलासहित ७ जनालाई भर्ना गरिएको छ ।

अब संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गरेर परीक्षण गर्ने तयारी थालिएको जिल्ला जनस्वास्थ्यका उपप्रमुख जीवन चौलागाईंले जानकारी दिए । करिब ४०० जनको थ्रोब स्बाव संकलन गर्ने तयारी छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा दमकका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो । सासूआमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासू दमकस्थित उनको घरमा किरियामा बसेका थिए । उनकी दिदीसासू इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् ।

काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासूसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४–४ जनासहित करिब ३५ जना आफन्त आएका थिए । फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत छोरा काठमाडौँ झरेका थिए । तीन दिन काठमाडौँमै बसेका छोरा चैत ४ गते बसमार्फत दमक घर आइपुगेका थिए ।

बैशाख ११ गते दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्ने क्रममा छोरालाई कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको थिएको थियो ।

यसैबीच, कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । चैत १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी नेपालकी पाँचौँ संक्रमित हुन् । उनीसँगै नेपालमा १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

उनीसँगै आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना पोजिटिभ भएको थियो । गत शनिबार पौडेल निको भएर डिस्चार्ज भइसकेकी छन् । पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ ।

नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ । सबैभन्दा धेरै उदयपुरमा २८ जना संक्रमित छन् । उनीहरु सबैको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

Adv footer