२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमकको उत्तरी क्षेत्रलाई बाँधियो चारकिल्ला


दमक, बैशाख १३ । दमक नगरपालिकाले एक सूचना निकालेर कोरोना संक्रमण पुष्टि भएको ३ नम्बर वडा आसपासको क्षेत्र सिल गरेको छ । सो वडाका ६२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएपछि सुरक्षित रहन नगरले चारकिल्ला बाँधेको हो ।

दमक नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरीलगायतको शुक्रबार राति बसेको आकस्मिक बैठकले उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो । ३ नम्बर वडाका स्थानीयबासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्न निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्ण रुपमा निषेध गरिएको छ ।

उक्त क्षेत्रका स्थानीयमा कोरोनाको एन्टिबडी परीक्षणका लागि नगरपालिकाले शुक्रबार नै प्रदेश सरकारसँर्ग यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किट माग गरेको उनले बताइन् । दमकमा १०० जनाको आरडिटी परीक्षण गर्दासम्म कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थिएन ।

१०१ नम्बरमा परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएका वृद्धका छोरामा एन्टिबडी पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि विराटनगरस्थित कोसी कोभिड अस्पताल पठाएको अधिकारीले जानकारी दिइन् ।

यसैबीच, नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ । इलाका प्रहरीका डिएसपी विजयराज पण्डितले शुक्रबार बिहानदेखि नै भुटानी शिविरमा आवतजावत पूर्ण रुपमा निषेध गरेको जानकारी दिए ।

शिविरमा करिब ५ हजार भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् । नगरपालिकाभित्र ४१ जना क्वारेन्टाइनमा छन् । वडा नम्बर ४ स्थित मानसरोवर कलेजको क्वारेन्टाइनमा २१, दाहाल प्रतिष्ठानमा ६ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer