२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७ हजारनजिक


-हिमाल खरेल
बिर्तामोड, बैशाख १५ ।
विश्वभर २ लाख ६ हजार ९१४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २९ लाख ९३ हजार २०३ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ७३ हजार ७९९ जनामा देखिएको छ भने ३ हजार ७५० जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये १० लाख ८४ हजार ३२३ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ८ लाख ७७ हजार ४०९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १९ लाख ८ हजार ८८० जनामध्ये तीन प्रतिशत अर्थात ५७ हजार ६०० जनाको अवस्था दयनीय छ । बाँकी १८ लाख ५१ हजार २८० जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ५५ हजार ४१२ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार १५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २६ हजार ४४९ जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १५ हजार १४३ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख २१ हजार ८८५ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२, बेल्जियममा ७ हजार ९४, जर्मनीमा ५ हजार ९७६, नेदरल्यान्ड्समा ४ हजार ४७५, स्विडेनमा २ हजार १९४, स्विटजरल्यान्डमा १ हजार ६१० र आयरल्यान्डमा १ हजार ८७ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ७१०, ब्राजिलमा ४ हजार २७१, टर्कीमा २ हजार ८०५, क्यानाडामा २ हजार ५६० र मेक्सिकोमा १ हजार ३०५ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३२ जनाको निधन भएको छ । पछिल्लो ११ दिनयता चीनमा कोरोनाका कारण मृत्यु भएको छैन । २४ घण्टामा ११ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १६ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म २७ हजार ८९० जना संक्रमित पुष्टि भएको छ । ८८२ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५७ जनाको मृत्यु भएको छ भने १ हजार ६०७ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा ९ लाख ८७ हजार १०० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख २६ हजार ६२९, इटलीमा १ लाख ९७ हजार ६७५, फ्रान्समा १ लाख ६२ हजार १००, जर्मनीमा १ लाख ५७ हजार ७७०, बेलायतमा १ लाख ५२ हजार ८४०, टर्कीमा १ लाख १० हजार १३०, इरानमा ९० हजार ४८१, चीनमा ८२ हजार ८२७, रुसमा ८० हजार ९४९ र ब्राजिलमा ६२ हजार ८५९ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer