बिर्तामोड, जेठ ९ । झापा जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचथरका ६४ वर्षीय चन्द्रकुमार घिमिरे छन् ।

जिल्ला प्रहरीका कार्यालय झापाका अनुसार जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरिरहेका घिमिरेको फोक्सोमा समस्या भएर आज बिहान मृत्यु भएको हो ।

साविक नागी-९ घर भएका घिमिरेको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । सुरुमा उनको ओम साई पाथिभरा हस्पिटल हुँदै प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भएको थियो ।

घिमिरेले झापा जिल्ला अदालतबाट फैसला भएर ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।






