२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार


-हिमाल खरेल
बिर्तामोड, बैशाख १६ ।
विश्वभर २ लाख ११ हजार २४४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३० लाख ६० हजार ४०७ नाघेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा मात्र ६७ हजार १४५ जनामा देखिएको छ भने ४ हजार ३२९ जनाको निधन भएको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार संक्रमितमध्ये ११ लाख ३१ हजार १३३ जनाको उपचारको फाइल बन्द गरिएको छ । अर्थात, ९ लाख १९ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सफल उपचार र निधन भएकाबाहेक १९ लाख २९ हजार २७४ जनामध्ये तीन प्रतिशत अर्थात ५६ हजार २८१ जनाको अवस्था दयनीय छ । बाँकी १८ लाख ७२ हजार ९९३ जनाको उपचार र अवस्था स्थीर छ ।

संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या ५६ हजार ६७७ जना पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार २६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २१ हजार ८८० जना नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा करिब १४ हजार १७५ जना मानिस अझै गम्भीर अवस्थामा छन् ।

युरोपमा मात्र अहिलेसम्म १ लाख २३ हजार ९३२ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । युरोपको इटालीमा सबैभन्दा धेरै २६ हजार ९७७, स्पेनमा २३ हजार ५२१, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२, बेल्जियममा ७ हजार २०७ जर्मनीमा ६ हजार ६१, नेदरल्यान्ड्समा ४ हजार ५१८, स्विडेनमा २ हजार २७४, स्विटजरल्यान्डमा १ हजार ६६५ र आयरल्यान्डमा १ हजार १०२ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरमा भएका जम्मा मृत्युको ५९ प्रतिशत युरोपमै रहेको छ ।

त्यस्तै, इरानमा ५ हजार ८०६, ब्राजिलमा ४ हजार ५४३, टर्कीमा २ हजार ९००, क्यानाडामा २ हजार ७०४ र मेक्सिकोमा १ हजार ३५१ जनाको मृत्यु भएको छ । चीनमा ४ हजार ६३३ जनाको निधन भएको छ । पछिल्लो १२ दिनमा चीनमा हिजो एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । २४ घण्टामा ३ जना नयाँ संक्रमित फेला परेका छन् ।

दक्षिणी छिमेकी मुलुक भारत संक्रमित संख्याको आधारमा १६ औँ स्थानमा छ । एसियामा टर्की, इरान र चीनपछि धेरै संक्रमित भारतमै छन् । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ ।
भारतमा अहिलसम्म २९ हजार ४५१ जना संक्रमित पुष्टि भएको छ । ९३९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८ जनाको मृत्यु भएको छ भने १ हजार ५६१ जना नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा १० लाख ९ हजार ४० जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये केवल अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ तीव्र गतिमा संक्रमित बढिरहेका छन् ।

त्यसपछि स्पेनमा २ लाख २९ हजार ४२२, इटलीमा १ लाख ९९ हजार ४१४, फ्रान्समा १ लाख ६५ हजार ८४२, जर्मनीमा १ लाख ५८ हजार ४३४, बेलायतमा १ लाख ५७ हजार १४९, टर्कीमा १ लाख १२ हजार २६१, इरानमा ९१ हजार ४७२, रुसमा ८७ हजार १४७, चीनमा ८२ हजार ८३० र ब्राजिलमा ६६ हजार ५०१ जना संक्रमित पुगेका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer