२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्न युनिकमको माग


बिर्तामोड, बैशाख १९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले कोभिड १९ कारण सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन र आफ्ना कर्मचारीलाई सूचीकरण गर्न व्यवसायीसँग अनुरोध गरेको छ ।

१३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले विज्ञप्ति निकालेर लक डाउनको अवस्थामा व्यापार क्षेत्रमा काम गर्ने श्रमिक र कर्मचारीलाई सुरक्षित पोशाक र सामग्री उपलब्ध गराउन, श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई अनुरोध गरेको छ ।

‘औद्योगिक शान्ति कायम गर्ने महत्वपूर्ण विधि सामुहिक सौदाबाजी नै हो र यो विधिलाई बढवा दिन र सुरूवात गर्न जरुरी छ’, विज्ञप्तिमा उल्लेख छ, ‘महामारीको भय र संकटबाट मुक्त हुँदै, हामीसँग समावेशी, हरित अर्थव्यवस्था निर्माण गर्ने अवसर पनि छ ।’ दसकौँदेखि ट्रेड युनियनमाथि भएको आक्रमणले गर्दा समाजले युनियनबाट हुने फाइदा लिन नसकेको तितो यथार्थ स्मरण गरिएको छ ।

लक डाउनका समयमा ट्रेड बिजनेसमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायत सम्पूर्ण व्यापार क्षेत्रमा काम गर्ने कर्मचारीको जीवन कष्टकर बन्दै गएकाले यसतर्फ गम्भीर बन्न संघले सरकार भनेको छ । यो बेला सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने मजदुर परेको हुँदा उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसमक्ष संघले जोडदार माग गरेको छ ।

त्यस्तै, कम्पनी प्रतिनिधिको रूपमा काम गर्ने बजार प्रतिनिधिको मासिक तार्गेट खारेज गरी तलब सुविधाको व्यवस्था गर्न कम्पनीसँग माग गरिएको छ । लक डाउनका समयमा कार्यक्षेत्रमा नखटिने श्रमिक र कर्मचारीको नियमित तलब सुविधा नरोक्न उसले प्रतिष्ठानसमक्ष आग्रह गरेको छ ।

यसैगरी, सहकारी संस्थाहरुमा कार्यरत कतिपय कर्मचारी र बजार प्रतिनिधिहरुलाई सुरक्षा सामग्री उपलब्ध नभएको गुनासोप्रति पनि युनिकम नेपालले चासो व्यक्त गरेको छ । उसले संगठित असंगठित सबै क्षेत्रका मजदुर कर्मचारीको न्यूनतम सुविधा र स्वास्थ्यप्रति राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने जिकिर गरेको छ ।

संघले व्यापार व्यवसायमा काम गर्ने कर्मचारीलाई चैत महिनाको पूरा तलब तुरुन्त उपलब्ध गराउनुपर्ने, बैशाख महिनादेखि साना खुद्रा पसलले लक डाउन अवधिभर खाइपाई आएको तलबको आधा तलब उपलब्ध गराउनुपर्ने, डिलरमा काम गर्ने कर्मचारी र कम्पनीमा काम गर्ने कर्मचारीलाई उनीहरुले खाइपाई आएको आधारभूत तलब उपलब्ध गराउनुपर्ने माग राखेको छ ।

त्यस्तै, लक डाउनको समयमा काममा खटिएका सबै क्षेत्रका कर्मचारीलाई कोरोना भाइरस रोकथाममा प्रयोग गर्नुपर्ने सुरक्षाका साधनहरु उपलब्ध गराउनुपर्ने, पूर्ववत तलब सुविधा र जोखिमयुक्त काम गरेबापत अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने, व्यापार क्षेत्रका साना स्वरोजगार मजदुरलाई राहतको व्यवस्था गराउनुपर्ने माग संघले सरकारसमक्ष राखेको छ ।

लक डाउनका कारण उत्पादन र बिक्री वितरण ठप्प भएको हुँदा ठुला उद्योग, मझौला र साना उद्योग, सानाठुला डिस्ट्रिब्युटर, थोक तथा खुद्रा पसलसमेतलाई ठुलो व्ययभार पर्न गएकाले उत्पादन र बिक्री वितरणमा लिएको ऋणको ब्याज छुट गर्न र कृषिजन्य उद्योगको ऋण मिनाह गर्न माग गरिएको छ ।

त्यस्तै, देशको ठुलो वित्तीय क्षेत्र ओगटेको सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीको समेत दैनिकी कष्टकर बन्दै गएकोले सहकारीमा मार्के्टिङ गर्ने संकलकहरुलाई चैत महिनको आधारभूत तलब र काम गरेको कमिसन, बैशाखदेखि लक डाउन अवधिको सरकारले तोकेको न्यूनतम आधारभूत तलब उपलब्ध गराउन पौडेलद्वारा निकालिएको विज्ञप्तिमा माग गरिएको छ । संघले हालसम्म कर्मचारीवर्गलाई सुरक्षा गर्दै आएका व्यवसायीलाई धन्यवद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer