२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान : आजबाट खाद्यान्न वितरण सुरु


-हिमाल खरेल
बिर्तामोड, बैशाख १९ ।
‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो ।

यो लोककल्याणकारी अभियान सुरु गर्नुभन्दा अगाडि यसका परिकल्पनाकार महेन्द्रकुमार गिरीले लक डाउनको अवधि बढ्दै गए विपन्न परिवारको अवस्था कति भयावह हुन्छ भन्ने सोचिसकेका थिए । ‘एकका लागि एक’ अभियानमा खासगरी सहारा नेपाल साकोसको मुख्य योगदान रहेको छ ।

लामो समयसम्म भएको लक डाउनका कारण समस्यामा परेका अति विपन्न ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने परिवारलाई यो अभियानले खाद्यान्न वितरण गर्दैछ । आज बैशाख १९ गते अभियानको उद्घाटनपछि खाद्यान्न वितरण सुरु गरिने अभियानका संयोजक गिरीले बताए । पहिलो चरणमा कम्तिमा १२०० परिवारलाई वितरण गरिनेछ ।

अभियानले स्थानीय तहको समन्वयमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, नुन २ किलो, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री उपलब्ध गराउनेछ । त्यसका लागि अभियान सचिवालयमा ती सामग्री तयारी अवस्थामा पोको पारेर राखिएको छ ।

अभियानले सामाजिक सञ्जाल र कर्मचारी परिचालन गरेर धमाधम आर्थिक संकलन गर्दै आएको छ । चार दिनअघि सुरु गरिएको अभियानबाट झन्डै २४ लाख रुपैयाँ संकलन भइसकेको छ । स्वदेश तथा विदेशमा बस्ने झापाली र अन्यले अभियानका लागि रकम जम्मा गर्दै आएको गिरीले जानकारी दिए ।

अभियानलाई अध्ययन तथा रोजगारीका लागि विदेश गएका नेपालीले दरिलो साथ दिएका छन् । अमेरिकाबाट सिर्जन अधिकारी २५ हजार, अस्ट्रेलियाबाट जुना बोहोरा २० हजार, अमेरिकाबाट कैलाश कार्की १५ हजार ७१५, अमेरिकाबाट डिल्लीराम सुवेदी र मिना कोइरालाले ३० हजार रुपैयाँ सहयोग गरेको छन् ।

त्यस्तै, अफगानिस्तानबाट बलिन्द्र कार्की, अमेरिकाबाट अमन्या बिमली र योगेन्द्र बिमली, केशव कार्की र क्रिशप कार्की, टेकनाथ नेपाल तथा राधिका नेपाल, बेल्जियमबाट बिमलकुमार गिरी र उषा गिरी र अस्ट्रेलियाबाट दुर्गाप्रसाद भट्टराई र उपमा दहालले कम्तिमा २० परिवारलाई पुग्ने खाद्यान्नका लागि सहयोग गरेका छन् ।

स्वदेशमा रहेका नेपालीले पनि अभियानलाई उत्तिकै साथ दिएका छन् । सहाराले नेपाल साकोसका कर्मचारीबाट मात्र ९ लाख ४० हजार ६२१ रुपैयाँ आर्थिक संकलन गरिएको छ । त्यस्तै, सहारा अटो मोबाइल्स प्रालिका कर्मचारी, फेमिली हेल्थ नेपाल, पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, एबिपिएस एसोसिएटलगागत संघसंस्थाले सहयोग गरेका छन् ।

अभियानलाई झापाका १५ वटा सामाजिक संस्थाले सघाएका छन् । सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सहकारी संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसिज, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, राष्ट्रिय सहकारी बैंक, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, नेप्लिज टिन्स, जेसिज पूर्वअध्यक्ष समाज, लायन्स क्लब अफ बिर्तामोड, विर्तामोड उद्योग वाणिज्य संघ र मेची पोट्रोलियम डिलर्स एसोसिएसन लगायत संस्थाले साथ दिएका छन् ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

अभियान संयोजक गिरीका अनुसार सहरी गरिबलाई खाद्यान्न वितरण गर्नुअघि उनीहरुलाई सहयोग कुपन दिइएको छ । अभियानका कर्मचारी र वडा कार्यालयको समन्वयमा राहत दिनैपर्ने परिवारको छनोट गरिएको छ । झापाका सहरी क्षेत्रमा रहने विपन्नलाई वितरण गरेपछि अभियानले मोरङमा वितरणको योजना बनाएको छ ।

अभियानले बिर्तामोड र मेचीनगर नगरपालिकामा १५०/१५० र अर्जुनधारा, कनकाई, भद्रपुर, दमक र शिवसताक्षी नगरपालिकाका १००/१०० अतिविपन्न परिवारलाई आजबाट खाद्यान्न वितरण सुरु गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer