२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

फुङलिङको आगलागी नियन्त्रणमा, ७ घर जले


ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी आज शनिबार बिहान साढे पाँच बजे नियन्त्रणमा आएको छ ।

शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ७ वटा घर जलेर ध्वस्त भएका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । ती घरमा ११ वटा पसल रहेका थिए ।

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए । दमकलबाट पटकपटक पानी ओसारेर लगाइएको थियो । गए राति भट्टराई होटल एन्ड लजबाट आगलागी सुरु भएको थियो ।

जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्ण रुपमा जलेको छ । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो नियन्त्रणमा आएको थियो । निरौलाको पाँच तले घरको आधा भाग जलेको छ । जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन् ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौँको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

यसअघि सदरमुकामको वीरेन्द्रचोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सबै आगलागी हिउँद याममै भएका हुन् ।

वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मेमा होटलमा रक्सी झान्दा आगलागी सुरु भएको थियो भने टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

प्रहरीको तथ्यांकअनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्रचोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।

२०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जल्दा ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer