२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान: आजसम्म ३० लाख रुपैयाँ संकलन


रोटरी क्लब अफ बिर्तामोडबाट सहयोग रकम लिँदै संयोजक गिरी र सहसंयोजक बस्नेत ।

बिर्तामोड, बैशाख २५ । ‘एकका लागि एक’ अभियानअन्तर्गत हालसम्म ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । यो रकमले कम्तिमा १ हजार ६६६ परिवारलाई खाद्यान्न वितरण गर्न सकिनेछ ।

‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियानले झापा र मोरङका स्थानीय तहमा खाद्य सामग्री वितरणसमेत सुरु गरिसकेको छ ।

‘एकका लागि एक’ अभियानमा खासगरी सहारा नेपाल साकोसको मुख्य योगदान रहेको छ । साकोसका कर्मचारीका तर्फबाट १२ लाख रुपैयाँ अभियानमा सहयोग प्राप्त भएको छ । त्यस्तै, सहारा नेपाल गैरसरकारी संस्थाले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

लामो समयसम्म भएको लक डाउनका कारण समस्यामा परेका अति विपन्न ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने परिवारलाई यो अभियानले खाद्यान्न वितरण गरिरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन अभियानको उद्घाटनपछि खाद्यान्न वितरण सुरु भएको हो ।

अभियानअन्तर्गत पहिलो चरणमा कम्तिमा १२०० परिवारलाई वितरण गरिने भनिए पनि उत्सहाजनक सहयोग प्राप्त भइरहेकाले २ हजार परिवारलाई खाद्य सामग्री दिइने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । अभियानले स्थानीय तहको समन्वयमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री उपलब्ध गराउनेछ ।

अभियानले सामाजिक सञ्जाल र कर्मचारी परिचालन गरेर धमाधम आर्थिक संकलन गर्दै आएको छ । स्वदेश तथा विदेशमा बस्ने झापाली र अन्यले अभियानका लागि रकम जम्मा गर्दै आएको गिरीले जानकारी दिए । आर्थिक संकलन जारी राखिएको छ ।

त्यस्तै, अभियानलाई सहारा अटो मोबाइल्स प्रालिका कर्मचारीबाट ६० हजार, मेची पेट्रोलियम डिलर्स एसोसिएसनबाट ५१ हजार, बिर्तामोड उद्योग वाणिज्य संघबाट ५० हजार, हेल्पिङ हर्ट नेपालका संस्थापक विकास प्रसाईं र गोमाकुमारी भट्टराईबाट ५० हजार, एक्सल डिभालप्मेन्ट बैंकका कर्मचारीबाट ४२ हजार, रोटरी क्लब अफ बिर्तामोडबाट ४० हजार रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै, शान्तिदीप महिला सहकारी संस्था, रोटरी क्लब अफ सुरुङ्गा, जनकल्याण समाज रामचोक, चारपाने अर्जुनधारा विकास समाज, रामचोक युवा समूह, दहीझोडा सामुदायिक वन उपभोक्ता समूह, फेमिली हेल्थ नेपाल, पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, एबिपिएस एसोसिएटलगागत संघसंस्थाले अभियानलाई सहयोग गरेका छन् ।

अभियानलाई झापाका १५ वटा सामाजिक संस्थाले सघाएका छन् । सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सहकारी संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसिज, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, राष्ट्रिय सहकारी बैंक, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, नेप्लिज टिन्स, जेसिज पूर्वअध्यक्ष समाज, लायन्स क्लब अफ बिर्तामोड, विर्तामोड उद्योग वाणिज्य संघ र मेची पोट्रोलियम डिलर्स एसोसिएसन लगायत संस्थाले साथ दिएका छन् ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

अभियान सहसंयोजक विनोद बस्नेतका अनुसार सहरी गरिबलाई खाद्यान्न वितरण गर्नुअघि उनीहरुलाई सहयोग कुपन दिइएको छ । अभियानका कर्मचारी र वडा कार्यालयको समन्वयमा राहत दिनैपर्ने परिवारको छनोट गरिएको छ ।

अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, भद्रपुर, दमक र शिवसताक्षी र मोरङका केही स्थनीय तहमा खाद्यान्न वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer