२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

२०० सुकुमबासीलाई खाना खुवाउँदै सन्तोष


बिर्तामोड, बैशाख २६ । लक डाउनका कारण बिचल्लीमा परेका मजदुर र विपन्न समुदायका झन्डै २ सयजनालाई युवा व्यवसायी सन्तोष उप्रेतीले खानाको प्रबन्ध गरिदिएका छन् ।

लक डाउनको ४६ औँ दिनसम्म घरमा भएको खाद्यान्न र प्राप्त राहातले छाक टार्दै आएका बिर्तामोड ३ चौँसठ्ठी कालीमन्दिर टोलका स्थानीयहरु भोकै बस्ने अवस्थामा पुगेका थिए । तर, प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुखसमेत रहेका उप्रेतीले शुक्रबारबाट खानाको प्रबन्ध गरिदिएका हुन् ।

टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर दर्जीका अनुुसार ७२ परिवारको बसोबास रहेको सो टोलका अधिकांश सुकुमबासी हुन् । धरैजसो पहाडी दलित र केही सन्थाल, मुसहर तथा राजवंशी समुदायका उनीहरु दैनिक ज्याला मजदुरी गर्दै घरको गुजारा चलाउँदै आएका थिए ।

१० दिनयता जाउली बनाएर सामुहिक रुपमा खाँदै आएका उनीहरुलाई उप्रेतीले टोलमै एक छाक खाना पकाएर खाने व्यवस्था मिलाइदिएका हुन् । टोल अध्यक्षले वडा अध्यक्ष भोजराज सिटौलालाई भोकै बस्नुपर्ने अवस्था आएको बताएपछि दाताको खोजी गरिएको थियो ।

शुक्रबार वडा अध्यक्ष सिटौला र उप्रेतीले खाना खाने कार्यक्रमको सुरुवात गरे । अब प्रत्येक दिन टोलमै खाना पकाएर स्थानीयलाई वितरण गरिने उप्रेतीले बताए । त्यसका लागि तीनजनालाई ज्याला दिएर पकाउने जिम्मा दिइएको छ ।

खानाको पोका निःशुल्क पाएपछि स्थानीय ६४ वर्षीया नरमाया बर्देवाले खुसी व्यक्त गरिन् । ‘भोकै बस्नुपर्ला, मरिएलाजस्तो भ’को थ्यो’, उनले भनिन्, ‘हाम्लाई भात ख्वाउने भाइ देउतै रछन् ।’ भनियर उद्योगमा काम गर्ने ४९ वर्षीया विष्णुकुमारी बर्देवाले पनि दुःखको बेला खानाको प्रबन्ध गरिदिने उप्रेतीलाई धन्यवाद दिइन् ।

यसैबीच, नेविसंघका पूर्वकेन्द्रीय सदस्य उप्रेतीले आफूले व्यक्तिगत खर्चमा खाना खुवाउने काम सुरु गरेको बताए । सुरुवातमा ग्यास, चुल्हो तथा अन्य सामग्रीसहित खाद्यान्न खरिदमा २० हजार रुपैयाँ खर्च भएको छ । प्रत्येक दिन १२ हजार रुपैयाँ भए एक छाक खाना खुवाउन सकिने उप्रेतीको अनुमान छ ।

सुरुवात आफूले गरे पनि आगामी दिनमा यो अभियानलाई निरन्तरता दिन साथीभाइ र संघसंस्थालाई जोड्दै लैजाने उनले बताए । ‘निःशुल्क खाना खुवाउने भनेपछि मानिसको संख्या पनि थपिन सक्छ’, उनले भने, ‘त्यसका लागि सबैको साथ सहयोग चाहिन्छ ।’

सुकुमबासी बस्तीको प्यानोरोमिक दृश्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer