२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान : ५१ लाख रुपैयाँ संकलनको लक्ष्य


बेलायतबाट प्राप्त २ लाख ७१ हजार रुपैयाँ ग्रहण गर्दै संयोजक गिरीलगायत अभियान्ता ।

हिमाल खरेल
बिर्तामोड, जेठ २ ।
विपन्न र असाहयलाई खाद्यान्न वितरण गर्न झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले देश तथा विदेश र संघसंस्थाबाट ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बनाएको छ ।

४१ लाख ३९ हजार संकलन
अभियानअन्तर्गत हालसम्म ४१ लाख ३९ हजार ८०२ रुपैयाँ सहयोग रकम संकलन भइसकेको छ । जेठ १ गतेसम्म अभियानमा संस्थागत रुपमा १० लाख ४८ हजार २०० रुपैयाँ र व्यक्तिगत रुपमा देश तथा विदेशबाट ३० लाख ९१ हजार ६०२ रुपैयाँ संकलन भइसकेको छ ।

‘एकका लागि एक’ अभियानमा खासगरी सहारा नेपाल साकोसको मुख्य योगदान रहेको छ । साकोसका ३५० कर्मचारीका तर्फबाट १२ लाख रुपैयाँ अभियानमा सहयोग प्राप्त भएको छ । त्यस्तै, सहारा नेपाल गैरसरकारी संस्थाले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

हालसम्म ४० भन्दा बढी सामाजिक संस्था र ५२४ जनाभन्दा बढी व्यक्ति जोडिएको अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले बताए । सहयोगी दाताहरु बढ्दै गएकाले अभियानले ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको हो ।

११९५ परिवारलाई खाद्यान्न

खाद्य सामग्री लिँदै एक विपन्न महिला ।

लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले दुई सातामा १ हजार १९५ परिवारलाई खाद्य सामग्री वितरण गरेको सचिवालयका गोपाल भट्टराईले जानकारी दिए ।

अभियानले बिर्तामोडमा ३३६ परिवार, मेचीनगरमा १७६ परिवार, अर्जुनधारामा १३८ परिवार, कनकाईमा १३० परिवार, शिवसताक्षीमा १०० परिवार, दमकमा १०० परिवार, भद्रपुरमा १०० परिवार, मोरङको सुन्दर हरैँचामा ७५ परिवार र उर्लाबारीमा ४० परिवारलाई खाद्य सामग्री दिइएको छ ।

अभियानले स्थानीय तहको समन्वयमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ । यी सामग्रीका प्याकेज खरिद गर्न १ हजार ८०० रुपैयाँ खर्च लाग्छ ।

अभियानअन्तर्गत पहिलो चरणमा कम्तिमा १२०० परिवारलाई वितरण गर्ने भनिए पनि उत्सहाजनक सहयोग प्राप्त भइरहेकाले २ हजार परिवारलाई खाद्य सामग्री दिइने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।

४९०० जनालाई निःशुल्क खाना

बिर्तामोडको वान स्टप मलअगाडि खानाको प्याकेट लिँदै विपन्नहरु ।

‘एकका लागि एक’ अभियानले बैशाख २८ गतेबाट बिर्तामोडचोकको वान स्टप मलअगाडि निःशुल्क तयारी खानाको प्याकेट वितरण गरिरहेको छ । खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेका अनुसार असक्त, सडकमै आश्रित, बिरामी कुरुवा, सडकमा अलपत्र नागरिकलाई खानाको प्रबन्ध गरिएको हो ।

अभियानले लक डाउन अवधि जेठ ५ गतेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्नेछ । दैनिक १ हजारजनालाई खाना खुवाउने लक्ष्य राखिए पनि पहिलो दिन ५०० जनाले मात्र खाना खाएका थिए ।

त्यस्तै, दोस्रो, तेस्रो र चौथो दिन आठआठ सयजना तथा पाँचौँ र आज छैटौँ दिन एकएक हजारजनाले निःशुल्क खाना खाएको घिमिरेले बताए । बिर्तामोडका अस्पतालमा रहेका बिरामी कुरुवा तथा निर्माण मजदुरलाई समेत उनीहरु बसेकै स्थानमा अभियानकर्मीले खाना उपलब्ध गराउँदै आएका छन् । खानामा शाकाहारी बिरयानी र अचार रहेको छ ।

अभियानले बिर्तामोडबाहेक कनकाईको कोटिहोममा रहेका असाहय र ज्येष्ठ नागरिकलाई पनि खानाको प्याकेट पुर्याउने गरेको छ । त्यस्तै, आवश्यकताअनुसार जिल्लाका मुख्य सहरमा मोबाइल गाडीमार्फत खानाको प्याकेट वितरण गरिँदै आएको घिमिरेले जानकारी दिए ।

१८ संस्था संस्थापक अभियान्ता

अभियानमा झापाका १८ वटा सामाजिक संस्थाको प्रत्यक्ष सहभागिता रहेको छ । ती संस्थाका सदस्यहरु अभियानकर्मीका रुपमा खट्दै आएका छन् । खाद्यान्न तथा निःशुल्क खाना वितरण र आर्थिक संकलनमा उनीहरु परिचालित भएका छन् ।

सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला सहकारी संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसिज, रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, राष्ट्रिय सहकारी बैंक, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, नेप्लिज टिन्स, जेसिज पूर्वअध्यक्ष समाज, लायन्स क्लब अफ बिर्तामोड, बिर्तामोड उद्योग वाणिज्य संघ र मेची पोट्रोलियम डिलर्स एसोसिएसन, सम्वाद समूहलगायत संस्थाले साथ दिएका छन् ।

कसले पाउँछन् राहत ?

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer