२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा पसल चलाउन जोरबिजोर प्रणाली


बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ ।

कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले झापामा पसल सञ्चालन गर्न जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । यसअघि खुकुलो पारिएको लक डाउनलाई थप कडाइ गरिनेछ ।

समितिका संयोजक तथा समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार आजदेखि जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैरखाद्यान्न पसल खोल्न पाइने भएको छ । यो प्रणाली कृषिजन्य र औषधिमा लागु हुने छैन । ती पसलहरू दैनिक चार घण्टा नियमित सञ्चालन गर्न पाइने पोर्तेलले बताए । बिहान ८ देखि दिउँसो १२ बजेसम्म पसलहरू खोल्ने निर्णय यथावत राखिएको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा रहेका बैक तथा वित्तीय संस्था आधा आधा गरी दिन बिराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ । नदीजन्य पदार्थ ढुवानी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म गर्न पाउने, त्यसका लागि स्थानीय तहको सिफारिसमा हुने निर्णय गरिएको छ ।

जिल्लाभित्र खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानी गर्दा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको उनले बताए ।

पोर्तेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशस्तरीय अनुगमन समितिका संयोजक तथा नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रदेश सांसद, समितिका सदस्यहरू, सबै पालिकाका प्रमुख तथा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरूको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।

झापाको प्रमुख बजार बिर्तामोडका नगर प्रमुख भने बैठकमा उपस्थित थिएनन् । बढी भीड हुने र लक डाउन उल्लंघन हुने बजारकै नगर प्रमुख उपस्थित नभएपछि निर्णय कार्यान्वयन हुनेमा आशंका उब्जिएको बैठकमा सहभागी एक प्रदेश सांसदले बताए । जिल्ला समन्वय समिति झापामा शनिबार बसेको सर्वपक्षीय बैठकले लक डाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer