-हिमाल खरेल
बिर्तामोड, जेठ ५ । लक डाउनपछि झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट खरिद गर्ने भएको छ ।
बिर्तामोडमा बसेको अभियानको बैठकले कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भिटिएम किट खरिद गर्ने भएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार अभियानले पाँच सय किट खरिद गर्ने योजना बनाएको छ । खरिद गरिएको किट कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
भाइरल रोगको परीक्षणका लागि लिइने र्यालको नमुना भण्डारण गर्न भिटिएम किट प्रयोग गरिन्छ । १५ एमएल क्षमता हुने प्लास्टिकको भिटिएम ट्युबमा र्याल संकलन गरी प्रयोगशालासम्म पुर्याउन सकिनेछ । संकलन गरिएको नमुनालाई ४८ घण्टाभित्र चिसो तामक्रममा राखेर प्रयोगशालामा लैजानुपर्छ ।
यसैबीच, अभियानले क्वारेन्टाइनमा राखिएका मानिसलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । कोरोना संक्रमण जोखिम न्यूनीकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रको आग्रह गरेपछि अभियानले आजबाट खाद्यान्न कार्यक्रम बिस्तार गरेको छ ।
अभियानले बिर्तामोडमा विपन्न र असक्तहरुलाई दैनिक एक छाक खाना खुवाउने कार्यलाई अझै निरन्तरता दिने निर्णय गरेको खाना व्यवस्थापन समितिका संयोजक सञ्जीव घिमिरेले बताए । विगत ९ दिनदेखि करिब ७ हजार व्यक्तिलाई तयारी खाना निःशुल्क वितरण गरिसकेको अभियानले लक डाउनभरि खाना वितरण गर्नेछ ।
लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, शिवसताक्षी दमक, भद्रपुर, मोरङको सुन्दर हरैँचा र उर्लाबारीमा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
झापाका १८ वटा सामाजिक संघसंस्थाको पहलमा सञ्चालित अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानलाई देश विदेशबाट सहयोग जुटिरहेको बताए । हालसम्म ४० भन्दा बढी सामाजिक संस्था र ५५० जनाभन्दा बढी व्यक्ति अभियानमा जोडिएका छन् । अभियानले ५१ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
यसैबीच, अभियानलाई संस्थागत गर्ने निर्णय पनि बैठकले गरेको छ । आउँदा दिनहरुमा हुन सक्ने विपद तथा प्रकोपको क्षतिलाई ख्याल गर्दै अभियानलाई संस्थागत गर्न लागिएको संयोजक गिरीले बताए । अभियानले आगामी दिनहरुमा बाढी, आगलागी तथा अन्य विपदमा परेका मानिसलाई सहयोग गर्नेछ ।