२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियानले क्वारेन्टिनमा खाना खुवाउँदै


क्वारेन्टिनमा बसेकालाई खाना खुवाउनका लागि बिर्तामोड १ मा तयार गरिँदै ।

बिर्तामोड, जेठ १० । ‘एकका लागि एक’ अभियानले क्वारेन्टिनमा बसेका मानिसलाई खाना खुवाउन थालेको छ । लक डाउनपछि झापामा सुरु गरिएको अभियानले चार दिनदेखि क्वारेन्टिनमा खाना खुवाइरहेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको अनुरोधमा बिर्तामोडको कञ्चनजंघा नर्सिङ कलेजमा बनाइएको क्वारेन्टिनमा रहेका मानिसलाई दैनिक खाना खुवाउँदै आएको हो ।

सो क्वारेन्टिनमा विभिन्न जिल्लाका दुई सय नेपाली बस्दै आएका छन् । उनीहरुलाई चार दिनअघि भारतको सीमावर्ती बजार पानीट्यांकीमा अलपत्र अवस्थाबाट उद्धार गरी नेपाल ल्याइएको थियो ।

अभियानका सहसंयोजक विनोद बस्नेतका अनुसार लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको अभियानले क्वारेन्टिनमा बसेकाहरुलाई बिहानको खाजा, दिउँसो खाना र बेलुका खाना खुवाउँदै आएको छ । अन्यत्रबाटै पकाएर तयार पारिएको खाजा खानाको प्याकेट क्वारेन्टिनमा पुर्याइने गरिएको बस्नेतले बताए ।

अभियानले यसअघि बिर्तामोडमा विपन्न र असक्तहरुलाई दैनिक एक छाक खाना खुवाउँदै आएको थियो । १२ दिनसम्म ८ हजार व्यक्तिलाई तयारी खाना निःशुल्क वितरण गरिएको खाना व्यवस्थापन संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।

त्यस्तै, ‘एकका लागि एक’ अभियानले बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, शिवसताक्षी दमक, भद्रपुर, मोरङको सुन्दर हरैँचा र उर्लाबारीमा २ हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको थियो ।

झापाका १८ वटा सामाजिक संघसंस्थाको पहलमा सञ्चालित अभियानमा देशविदेशबाट हालसम्म ४० भन्दा बढी सामाजिक संस्था र ५५० जनाभन्दा बढी व्यक्ति अभियानमा जोडिएको सचिवालयका गोपाल भट्टराईले बताए । अभियानले ५३ लाख रुपैयाँ संकलन गरिसकेको छ भने एक लाख मूल्य बराबरको चामल र तेल प्राप्त गरेको छ ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार अभियानलाई अब संस्थागत गरिनेछ । आउँदा दिनहरुमा हुन सक्ने विपद तथा प्रकोपको क्षतिलाई ख्याल गर्दै अभियानलाई संस्थागत गर्न लागिएको संयोजक गिरीले बताए । अभियानले आगामी दिनहरुमा बाढी, आगलागी तथा अन्य विपदमा परेका मानिसलाई सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer