२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा कोभिड अस्पताल र प्रयोगशाला बनाउन अभियानद्वारा सहयोगको अपिल


बिर्तामोड, जेठ ११ । झापामा कोभिड अस्पताल र प्रयोगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको ‘एकका लागि एक’ अभियानले आर्थिक सहयोगको अपिल गरेको छ ।

अभियानका सहसंयोजक विनोद बस्नेतले देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि अस्पताल र प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएको जानकारी दिए । विदेशमा रहेका झापाली संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको बस्नेतको भनाइ छ ।

भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड १९ अस्पताल र साविक जनस्वास्थ्य कार्यालयको तालिम केन्द्रमा परीक्षण प्रयोगशाला स्थापना गर्ने टुंगो लागेको छ । अभियानले अन्तर्राष्ट्रिय झापाली समाज तथा प्रत्येक देशमा रहेका झापाली संघसंस्थालाई सहयोग गर्न विशेष अनुरोध छ ।

झापाका संक्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ती कचनकवल गाउँपालिकाका हुन् । उनीहरु सबै भारतबाट आएका हुन् । झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । झापा गाउँपालिकामा पनि कोरोना संक्रमित पुष्टि भइसकेका छन् । झापामा हालसम्म कोभिड १९ संक्रमितको संख्या ३६ पुगेको छ ।

अभियानले व्यक्तिगत र संस्थागत गरी जेठ १० गतेसम्म ५२ लाख ५६ हजार २७५ रुपैयाँ सहयोग प्राप्त गरेको छ । देशविदेशका ५१ वटा संघसंस्था र ५९४ जना दाताले अभियानलाई सहयोग गरिसकेका छन् ।

त्यस्तै, २ हजार परिवारलाई खाद्यान्न वितरण गरेको छ । ८ हजार मानिसलाई खाना खुवाएको अभियानले जेठ ७ गतेबाट बिर्तामोडको क्वारेन्टिनमा रहेका २ सयजनालाई बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाउँदै आएको छ ।

एक हजार भिटिएम खरिद गरिने

यसैबीच, झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन ‘एकका लागि एक’ अभियानले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट खरिद गर्ने भएको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार अभियानले एक हजार किट खरिद गर्ने योजना बनाएको छ ।

बिर्तामोडमा बसेको अभियानको बैठकले कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भिटिएम किट खरिद गर्ने निर्णय गरेको थियो । सुरुमा पाँच सय किट खरिद गर्ने सोच बनाए पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहपछि पहिलो चरणमा एक हजार किट खरिद गरिने गिरीले बताए । एउटा किटको मूल्य चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ ।

परीक्षण किटको अभाव भएपछि अभियानले खरिदमा चासो देखाएको हो । यसअघि खाद्यान्न वितरण र खाना खुवाउँदै आएको अभियानले अब स्वास्थ्य परीक्षणमा केन्द्रित हुने जनाएको छ ।

झापामा हालसम्म ७०० भन्दा बढीको र्यालको नमुना संकलन गरी पिसिआर परीक्षण गरिएको छ । किट अभावमा परीक्षण रोकिने अवस्था आएपछि गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकाले पनि पाँचपाँच सय थान भिटिएम किट खरिद गर्ने भएका छन् ।

भाइरल रोगको परीक्षणका लागि लिइने र्यालको नमुना भण्डारण गर्न भिटिएम किट प्रयोग गरिन्छ । १५ एमएल क्षमता हुने प्लास्टिकको भिटिएम ट्युबमा र्याल संकलन गरी प्रयोगशालासम्म पुर्याउन सकिनेछ । संकलन गरिएको नमुनालाई ४८ घण्टाभित्र चिसो तामक्रममा राखेर प्रयोगशालामा लैजानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer