२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका एकजना कोरोना संक्रमित भारतीय नागरिक


शेख र उनको परिवार बस्दै आएको सीमावर्ताी क्षेत्रको गुगल तस्वीर (रातो घेरामा) ।

-हिमाल खरेल
बिर्तामोड, जेठ १४ ।
झापामा कोरोना भाइरस पुष्टि भएकामध्ये एकजना पुरुष भारतीय नागरिक भएको खुलेको छ ।

झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय एक पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भारतीय नागरिक हुन् । हाल उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार उनको घर सीमावर्ती भारतको किसनगञ्ज जिल्लास्थित महामारी ग्राम पञ्चायतमा पर्छ । जेठ ४ गते उनलाई प्रहरीले उनी बसिरहेको घरबाटै (ससुराली) उद्धार गरेर डिल्लीराज मावि क्वारेन्टिनमा राखेको थियो ।

उनी बस्दै आएको घर उनको ससुराली भएको खुलेको छ । झापा गाउँपालिका वडा नम्बर ४ को पेस्कारी टोलमा उनी १५ वर्षदेखि बस्दै आएका छन् । पत्नीको नागरिकता भए पनि ती पुरुषको नभएको गाउँपालिका अध्यक्ष जयनारायण साहले पुष्टि गरे । उनी ज्वाइँ बनेर बसेको बुझिएको साहले बताए ।

मुम्बईमा काम गर्दै आएका उनी अन्य दुई दाजुभाइसहित लुकीछिपी मकैबारी हुँदै नेपाल प्रवेश गरेका थिए । भारतबाट आएको थाहा पाएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गर्न जाँदा सोधपुछ गर्दा नेपाली बोल्न सकेनन् ।

ती पुरुषसँग नेपाली नागरिक भएको पुष्टि गर्ने कुनै पनि प्रमाण नभेटिएपछि भारत नै पठाउने तयारी प्रहरीले गरेको थियो । तर, वडा नम्बर ४ का वडा अध्यक्ष राजु भारतीले ती पुरुष नेपाली नै भएको बताएपछि डिल्लीराज मावि क्वारेन्टिनमा ल्याइएको स्रोतले बतायो ।

गाउँपालिकाको बैठकमा समेत ती भारतीय पुरुषबारे प्रश्न उठेको थियो । तर, नेपालकै क्वारेन्टिनमा बसिसकेको र पत्नी, छोराछारी पनि नेपालतर्फै रहेकाले उनको स्वाब संकलन गरी धरान पठाइएको थियो । अध्यक्ष साहले समेत सीमा क्षेत्रमा यस्तो समस्या रहेको स्वीकार गरे ।

शेख थरका ती पुरुषका परिवारमा १५ जना छन् । उनीहरु सबैको पिसिआर गरिएको छ । त्यस्तै, उनीसँगै भारतबाट आएका अन्य दुई पुरुषको पनि पिसिआर परीक्षण गरिएको झापा गाउँपालिकाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले जानकारी दिए । उनीहरुमा कोरोना पुष्टि नभए पनि क्वारेन्टिनमै अलग्गै राखिएको छ । पुनः परीक्षणपछि मात्र उनीहरुलाई घर जान दिइने न्यौपानेले बताए ।

संक्रमित पुरुषसँग सम्पर्कमा रहेका व्यक्ति, एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको पनि स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । डिल्लीराज मावि क्वारेन्टिनमा जेठ १३ गतेसम्म ५७ जना बसेका छन् । मुम्बई, दिल्ली, कानपुरबाट आएका उनीहरुको पनि स्वाब संकलन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer