२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा विशेष क्वारेन्टिन सञ्चालन गर्न नियमावली


भद्रपुर, जेठ १५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टिन सञ्चालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ ।

आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टिनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको हो ।

विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रका होटल, धर्मशाला वा सामुदायिक भवनमा विशेष क्वारेन्टिन बनाउन सक्ने र त्यसका लागि नगरपालिकाले तय गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

भारतलगायतका विदेशबाट नेपालीहरु स्वदेश फर्कने संख्या बढ्दै गएपछि सामुदायिक क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको सन्दर्भमा आर्थिक रुपमा सक्षम र अलग्गै क्वारेन्टिनमा बस्न चाहने नागरिकका लागि विशेष क्वारेन्टिनको व्यवस्था गर्न लागिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

विशेष क्वारेन्टिनमा बस्ता वा राख्दा नेपाल सरकारको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड र नगर स्वास्थ्य शाखाले दिएको निर्देशन पूर्ण पालना गर्नुपर्ने नियमावलीमा उल्लेख छ । विशेष क्वारेन्टिनमा बस्नेले कम्तीमा १४ दिन पूरा गर्नुपर्नेछ ।

त्यस्तै, विशेष क्वारेन्टिनमा आउनुअघि नगर प्रहरी र नगर स्वास्थ्य शाखामा बिस्तृत बिबरण उपलब्ध गराउनुपर्नेछ भने त्रिपक्षिय सम्झौता गरेर मात्र विशेष क्वारेन्टिनको सेवा लिन दिन सकिनेलगायतका दुई दर्जनभन्दा बढी बुँदा नियमावलीमा समेटिएको छ ।

भद्रपुरमा दुई स्थानमा सामुदायिक क्वारेन्टिन र मेची क्याम्पसमा होल्डिङ सेन्टर राखिएको छ । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका र लकडाउनकै समयमा नेपाल प्रवेश गरेका नेपालीहरुलाई ती क्वारेन्टिन र होल्डिङ सेन्टरमा राखिएको छ ।

क्वारेन्टिनमा रहेकाहरुलाई कम्तिमा १४ दिन राखेर कोरोना परीक्षण र होल्डिङ सेन्टरमा रहेका मानिसको कोरोना परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुसँग समन्वय गरी जिम्मा लगाउने गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer