२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश १ मा कोरोना प्रयोगशाला र अस्पतालको अभाव


बिर्तामोड, जेठ १८ । प्रदेश १ मा कोभिड १९ का संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड अपुग हुने भएको छ । दुई दिनअघि मात्रै कचनकवलमा २७ जना संक्रमित बेड अभावमा १० घण्टासम्म अस्पतालबाहिरै बस्नु परेको थियो ।

प्रदेश १ मा २८२ वटा आइसोलेसन बेड छन् । जसमा, १३० जना उपचाररत छन् भने ३० जना निको भएर घर फर्किएका छन् । संक्रमितको संख्या बढ्दै गएमा उनीहरुले घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ ।
कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।

प्रदेश १ का १४ र प्रदेश २ को सप्तरीबाट संकलन गरिएको स्वाब विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवका अनुसार प्रादेशिक प्रयोगशालामा एकपटकमा ३५ देखि ५० नमुनाको मात्र परीक्षण गर्न सक्ने क्षमता छ ।

क्षमता कम भएकाले एकपटक धेरैवटा नमुना राखेर परीक्षण गर्न पनि सम्भव नभएको यादवको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने खालका र धेरै आएका स्वाब अरू दुई ल्याबले परीक्षण गर्दै आएका छन् ।

कोसीले एकपटकमा एक मात्र स्वाब परीक्षण गर्दा दैनिक सयदेखि १२० सम्म परीक्षण गर्न सक्छ । यो ल्याबले एकैपटक धेरै परीक्षण गर्दा दुई सयसम्म गर्न सक्ने उनले बताए । बिपीको पनि क्षमता कोसीको जस्तै रहेको यादवको भनाइ छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना संक्रमण बढ्दै गएकाले अहिलेको परीक्षण क्षमता पर्याप्त नभएको बताए । ‘अहिले हामी दैनिक तीन सयको मात्र पिसिआर परीक्षण गर्न सक्छौँ । यो कमै भएको छ,’ मन्त्री घिमिरेले भने, ‘अब दुईवटा पिसिआर मेसिन थपेर दैनिक एक हजार स्वाब परीक्षण गर्न सक्ने क्षमता पु¥याउँदै छौँ ।’ तर, मेसिन राख्नका लागि ल्याब नभेटिएको मन्त्री घिमिरेले बताए ।

क्षमताभन्दा बढी नमुना आउँदा आधाजति थन्किने गरेका छन् । जसले गर्दा एक हप्तासम्म पालो नपाएको संक्रमण फैलिएका स्थानीय तहले गुनासो गरेका छन् । झापाको भद्रपुरमा प्रयोगशाला बनाउने भनिए पनि स्थानीयको विरोधले रोकिएको छ ।

प्रदेश १ मा सबैभन्दा बढी संक्रमित जिल्ला झापा हो । झापाको कचनकवलमा मात्रै एक सय संक्रमित छन् । तर, हालसम्म झापामा प्रयोगशाला बनाउनेबारे कोही पनि संवेदनशील बनेको छैन । एकका लागि एक अभियानले प्रयोगशाला स्थापनाका लागि सहयोग गर्ने भने पनि जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले खासै चासो नदिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer