२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आचारसंहिता बनाएर लक डाउन खुकुलो बनाउन बिर्तामोड नगरपालिकालाई पाँच संस्थाको ध्यानाकर्षण


बिर्तामोड, जेठ १८ । लक डाउनको अवधि बढ्दै जाँदा व्यापार श्रमिक, पेसाकर्मी तथा कम लगानीका व्यवसायीको अवस्था नाजुक बन्दै गएकोप्रति झापाका पाँचवटा संस्थाले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

ती संस्थाहरुले नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई आज आइतबार नगरपालिका पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । लक डाउन बढ्दै जाने हो भने मध्यम वर्गीय परिवारको अवस्था पनि नाजुक हुने भन्दै ती संस्थाले लक डाउनलाई व्यवस्थित गर्दै जानुपर्नेप्रति सचेत गराएका छन् ।

सरकारले संक्रमण नबढोस् भन्नका लागि लक डाउनबाहेक कुनै नीति नअपनाएको, संक्रमितलाई कसरी राख्ने, उपचार कसरी गर्ने भन्ने भरपर्दो तयारी नभएकोले सरकारका कोष तथा बजेटलाई कोरोना परीक्षण प्रयोगशाला स्थापना तथा अस्पताल निर्माणमा लगाउनुपर्नेमा गम्भीर बन्न पाँच संस्थाले आग्रह गरेका छन् ।

त्यस्तै, ती संस्थाले लक डाउन खुकुलो पार्दै लैजान सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने, लक डाउनलाई प्रभावकारी रुपमा पालना गराउन आचारसंहिता र अनुगमन समिति बनाउनुपर्ने माग राखेका छन् ।

संघीय सरकार तथा बिर्तामोड नगरपालिकाले लक डाउन खुकुलो पार्दै उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाए विभिन्न दायित्व पूरा गर्ने ती संस्थाले प्रतिबद्धता जनाएका छन् । पाँच संस्थाले नागरिक, व्यवसायी, उद्योगी, वित्तीय संस्था र स्थानीय सरकारले कोरोनाबाट जोगिन आआफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी र वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer